रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूबाट लिइँदै आएको प्रतिनिधि शुल्क नलिन निर्देशन दिएका छन्।
महाधिवेशनको अवधि अपेक्षाभन्दा लम्बिएको अवस्थालाई मध्यनजर गर्दै प्रतिनिधिहरूमाथि थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको जनाइएको छ। यससँगै प्रतिनिधिहरूले बुझाउनुपर्ने पाँच हजार रुपैयाँ शुल्क अब अनिवार्य नहुने पार्टीले स्पष्ट पारेको छ।
यसअघि शुल्क बुझाइसकेका प्रतिनिधिहरूमध्ये आर्थिक रूपमा समस्या भएका व्यक्तिले आवश्यक प्रक्रिया पूरा गरी रकम फिर्ता लिन सक्ने व्यवस्था पनि गरिएको छ।
पार्टीले महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई चितवन बसाइका क्रममा कुनै प्रकारको समस्या आए सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरेको छ। खानपान, आवास तथा अन्य व्यवस्थापनका विषयमा आवश्यक सहजीकरणका लागि पार्टीले विशेष व्यवस्था मिलाएको जनाएको छ।
चितवनमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरू सहभागी छन्। महाधिवेशनमा नयाँ नेतृत्व चयन, संगठन सुदृढीकरण र आगामी राजनीतिक कार्यदिशाबारे छलफल भइरहेको छ।
महाधिवेशनको समयावधि लम्बिएसँगै प्रतिनिधिहरूको बसोबास र व्यवस्थापनका विषयमा विभिन्न चासो व्यक्त भइरहेका बेला पार्टी नेतृत्वले शुल्कसम्बन्धी निर्णयमार्फत प्रतिनिधिहरूलाई केही राहत दिने प्रयास गरेको बताइएको छ।
तपाईको प्रतिक्रिया