बुधबार १० असार २०८३
राजनीति

सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेल सात दिन हिरासतमा

मंगलबार असार ९, २०८३/ Tuesday 06-23-26

काठमाडौं । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न अनुमति दिएको छ।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सोमबारदेखि लागू हुने गरी पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो।

अदालतको आदेशपछि विभागले पौडेलमाथिको अनुसन्धानलाई थप अघि बढाउने भएको छ। अनुसन्धानका क्रममा थप प्रमाण तथा विवरण आवश्यक परे हालको सातदिने म्याद सकिएपछि विभागले पुनः विशेष अदालतबाट म्याद थप गराउनुपर्ने कानुनी व्यवस्था छ।

नेकपा (एमाले) का उपाध्यक्षसमेत रहेका पौडेललाई आइतबार सुर्खेतबाट पक्राउ गरिएको थियो। पक्राउपछि उनलाई सोही रात स्थलमार्ग हुँदै काठमाडौं ल्याइएको थियो। त्यसपछि विशेष अदालतमा उपस्थित गराइएपछि अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

पौडेलमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। अनुसन्धान निकायले आर्थिक कारोबार, सम्पत्तिको स्रोत र त्यससँग सम्बन्धित विभिन्न पक्षबारे छानबिन गरिरहेको जनाएको छ। यद्यपि अनुसन्धान जारी रहेकाले यस विषयमा विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

हाल अदालतको आदेशअनुसार पौडेल सात दिन हिरासतमा रहनेछन् भने अनुसन्धानको प्रगतिअनुसार थप कानुनी प्रक्रिया अघि बढाइनेछ।

 

तपाईको प्रतिक्रिया