चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका रवि लामिछानेको प्रस्तावकका रूपमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) रहेका छन्।
मंगलबार चितवनमा जारी महाधिवेशन अन्तर्गत लामिछानेले सभापति पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराउँदा बालेन प्रस्तावक बनेका हुन्। लामिछानेको सचिवालयका अनुसार उम्मेदवारी दर्ता प्रक्रिया बन्दसत्र हलमा सम्पन्न भएको हो।
यसैबीच, रास्वपाको पहिलो महाधिवेशनका लागि केन्द्रीय निर्वाचन आयोगले संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले मंगलबार साँझ पौने ७ बजे सार्वजनिक गरेको कार्यतालिका अनुसार मंगलबार राति १० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ।
त्यसपछि उम्मेदवारीमाथिको आवश्यक प्रक्रिया पूरा गरी राति ११:४५ बजे उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ। अन्तिम नामावली प्रकाशनसँगै निर्वाचनको मौन अवधि सुरु हुनेछ।
निर्वाचन कार्यक्रमअनुसार बुधबार मतदान हुनेछ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार पहिलो चरणमा सभापति र केन्द्रीय सदस्य पदका लागि मतदान गराइनेछ।
मतदान सम्पन्न भएको करिब दुई घण्टाभित्र पहिलो चरणको मतपरिणाम सार्वजनिक गरिने आयोगले जनाएको छ। दोस्रो चरणको उम्मेदवारी दर्ता तथा अन्य निर्वाचन कार्यक्रम भने आवश्यकता अनुसार पछि सार्वजनिक गरिने बताइएको छ।
रास्वपाको पहिलो महाधिवेशनलाई पार्टीको भावी नेतृत्व चयन तथा संगठनात्मक दिशा निर्धारणका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।
तपाईको प्रतिक्रिया