बिहीबार ११ असार २०८३
खेलकुद

विनीसियस चम्किँदा ब्राजिल समूह विजेता, स्कटल्यान्डमाथि ३–० को सहज जित

बिहीबार असार ११, २०८३/ Thursday 06-25-26

काठमाडौँ ।  स्टार फरवार्ड विनीसियस जुनियरको उत्कृष्ट प्रदर्शनमा ब्राजिलले फिफा विश्वकप २०२६ को समूह ‘सी’ मा शीर्ष स्थान हासिल गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। समूह चरणको अन्तिम खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३–० गोलअन्तरले पराजित गर्दै विजेताको रूपमा अघिल्लो चरणमा प्रवेश गरेको हो।

जितमा विनीसियसले दुई गोल गर्दै टोलीको सफलता सुनिश्चित गरे। ह्याट्रिक पूरा गर्न भने उनी सफल भएनन्। जारी विश्वकपमा उनको व्यक्तिगत गोल संख्या चार पुगेको छ। सर्वाधिक गोलकर्ताको दौडमा उनी पाँच गोल गरेका अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीभन्दा एक गोलले मात्र पछाडि छन्।

उत्कृष्ट प्रदर्शनका कारण विनीसियस खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए। सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको ब्राजिलले खेलभर दबाब कायम राख्दा स्कटल्यान्डले सिर्जना गरेका केही अवसरलाई सदुपयोग गर्न सकेन।

पराजयसँगै स्कटल्यान्डको नकआउट चरण पुग्ने सम्भावना कमजोर बनेको छ। अब उसले उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीहरूको सूचीमा पर्न अन्य समूहका नतिजामाथि निर्भर रहनुपर्ने अवस्था सिर्जना भएको छ।

 

तपाईको प्रतिक्रिया