बिहीबार ११ असार २०८३
अर्थ

वीरगञ्ज महानगरपालिकाले ल्यायो चार अर्ब ४२ करोड बजेट

बुधबार असार १०, २०८३/ Wednesday 06-24-26

जनकपुरधाम । मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। शिक्षा, स्वास्थ्य, सरसफाइ, कृषि, पर्यटन, उद्योग, गुणस्तरीय पूर्वाधार विकास तथा प्रविधिलाई प्राथमिकतामा राख्दै बजेट प्रस्तुत गरिएको हो।

महानगरको २०औँ नगरसभामा कार्यवाहक मेयर इम्तियाज आलमको तर्फबाट नगरकार्यपालिका सदस्य जगत साह कानुले आगामी वर्षको अनुमानित आय–व्ययसहितको बजेट पेश गरेका हुन्।

यो बजेट चालु आर्थिक वर्षको तुलनामा करिब १ अर्ब १९ करोड रुपैयाँले बढी हो। चालु आर्थिक वर्ष २०८२/०८३ का लागि महानगरपालिकाले ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको थियो।

प्रस्तुत बजेटअनुसार चालू खर्चतर्फ २ अर्ब ४० करोड ३४ लाख ६९ हजार रुपैयाँ अर्थात् कुल बजेटको ५४.३ प्रतिशत विनियोजन गरिएको छ। त्यस्तै, पुँजीगत खर्चका लागि १ अर्ब ९६ करोड ९९ लाख ८४ हजार रुपैयाँ अर्थात् ४४.६ प्रतिशत छुट्याइएको छ भने वित्तीय व्यवस्थापनका लागि ५ करोड रुपैयाँ अर्थात् १.१ प्रतिशत बजेट विनियोजन गरिएको छ।

बजेट कार्यान्वयनका लागि आवश्यक स्रोत संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरण, आन्तरिक राजस्व, राजस्व बाँडफाँट, घरजग्गा रजिस्ट्रेशन शुल्क, गत वर्षको मौज्दात तथा नगर विकास कोषबाट जुटाइने महानगरले जनाएको छ।

आगामी वर्षको खर्च व्यवस्थापनका लागि संघीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९८ करोड २९ लाख रुपैयाँ, आन्तरिक राजस्वबाट १ अर्ब ४८ करोड रुपैयाँ तथा संघीय राजस्व बाँडफाँटबाट २४ करोड ६८ लाख ८३ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। यस्तै, प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने रकम, घरजग्गा रजिस्ट्रेशन शुल्कबाट ४५ करोड रुपैयाँ, गत वर्षको नगद मौज्दातबाट ४ करोड ६९ लाख ४४ हजार रुपैयाँ र नगर विकास कोषबाट १५ करोड रुपैयाँ जुटाइने लक्ष्य राखिएको छ।

तपाईको प्रतिक्रिया