बिहीबार ११ असार २०८३
खेलकुद

इङ्ल्याण्ड र घानाबीच गोलरहित बराबरी

बुधबार असार १०, २०८३/ Wednesday 06-24-26

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत समूह ‘एल’ को दोस्रो खेलमा इङ्ल्याण्ड र घाना गोलरहित बराबरीमा रोकिएका छन्। बोस्टन नजिकैको जिलेट स्टेडियममा बुधबार राति भएको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि अंक बाँडेका हुन्।
६३ हजार ९ सय ८३ दर्शकमाझ सम्पन्न खेलमा इङ्ल्याण्डले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको थियो। खेलभरि इङ्ल्याण्डले विपक्षी पोस्टमा १९ पटक प्रहार गरे पनि घानाका वैकल्पिक गोलरक्षक बेन्जामिन आसारेले उत्कृष्ट प्रदर्शन गर्दै गोल हुन दिएनन्। घानाले भने खेल अवधिभर मात्र दुई पटक गोलको प्रयास गरेको थियो। इङ्ल्याण्डका निको ओ’रेलीले उत्तरार्धमा गरेको हेड बल बारमा लागेर फर्किएपछि टोली जितबाट चुकेको थियो।
पहिलो खेलमा क्रोएसियालाई ४–२ ले हराएर सनसनीपूर्ण सुरुवात गरेको इङ्ल्याण्डको यो फितलो प्रदर्शनले टोलीको विश्वकप उपाधि यात्रामाथि फेरि प्रश्न उठाएको छ। खेलभरि इङ्ल्याण्डको लय गत युरो २०२४ को कमजोर प्रदर्शनजस्तै देखिएको थियो।
यद्यपि यो बराबरीसँगै दुवै टोलीको अन्तिम ३२ मा पुग्ने सम्भावना भने बलियो बनेको छ। समूह ‘एल’ मा दुवै टोलीको दुई खेलबाट समान ४–४ अंक भएको छ। इङ्ल्याण्डले अब शनिबार मेटलाइफ स्टेडियममा पानामासँग समूह चरणको अन्तिम खेल खेल्नेछ। उक्त खेलमा पराजित नभए इङ्ल्याण्ड अर्को चरणमा प्रवेश गर्नेछ।
विश्वकप इतिहासमा इङ्ल्याण्ड अहिलेसम्म कुनै पनि अफ्रिकी टोलीसँग पराजित भएको छैन र यो कीर्तिमान यस पटक पनि कायम रह्यो। फिफा वरीयतामा इङ्ल्याण्डभन्दा ६९ स्थान पछाडि, ७३औँ स्थानमा रहेको घानाले भने उत्कृष्ट रक्षात्मक खेल प्रदर्शन गर्दै बलियो प्रतिरोध गर्‍यो।
समूह चरणको पहिलो खेलमा इङ्ल्याण्डले क्रोएसियालाई ४–२ गोलअन्तरले र घानाले पानामालाई १–० गोलले पराजित गरेका थिए।

तपाईको प्रतिक्रिया