आइतबार ७ असार २०८३
राजनीति

रास्वपा पुरानो पुस्तासँग संघर्ष गर्न होइन, नयाँ राजनीतिक संस्कार स्थापित गर्न आएको हो : स्वर्णिम वाग्ले

आइतबार असार ७, २०८३/ Sunday 06-21-26

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्लेले रास्वपा पुराना राजनीतिक शक्तिसँग प्रतिस्पर्धा वा संघर्ष गर्न नभई देशमा नयाँ राजनीतिक संस्कार स्थापित गर्ने उद्देश्यसहित उदाएको बताएका छन्।

चितवनको भरतपुरमा जारी रास्वपाको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै वाग्लेले पार्टीको लक्ष्य केवल सरकार परिवर्तनमा सीमित नभई राजनीतिक संस्कार परिवर्तनको अभियान रहेको स्पष्ट पारे।

“हामी कसैलाई हराउन होइन, नेपाललाई जिताउन आएका हौँ। पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौँ,” उनले भने।

वाग्लेले लोकतन्त्र स्थापना र व्यवस्था परिवर्तनका लागि योगदान पुर्‍याएका पुराना राजनीतिक दल तथा नेताहरूप्रति सम्मान व्यक्त गर्दै अब लोकतान्त्रिक उपलब्धिलाई संस्थागत गर्ने जिम्मेवारी नयाँ पुस्ताको काँधमा आएको बताए।

उनले पछिल्ला वर्षहरूमा सत्ता जनताको अपेक्षा पूरा गर्ने माध्यमभन्दा पनि ‘सत्ता लालचको व्यवस्थापन’ जस्तो बन्दै गएको टिप्पणी गरे। यही कारणले जनतामा परिवर्तनको चाहना तीव्र बन्दै गएको र त्यसले विद्रोहको रूप लिएको उनको भनाइ थियो।

“जब सत्ता जनहितभन्दा टाढा जान थाल्यो, जनताको परिवर्तनको चाहना विद्रोहमा बदलियो। रास्वपा त्यही विद्रोहको लोकतान्त्रिक अभिव्यक्ति हो,” वाग्लेले भने।

उनले रास्वपाले केवल आलोचना गर्ने राजनीतिक शक्ति नभई वैकल्पिक राजनीतिक अभ्यास प्रस्तुत गर्नुपर्नेमा जोड दिए। नयाँ पुस्ताले प्रश्न मात्र उठाउने नभई समाधान र विकल्प पनि दिन सक्ने क्षमता प्रमाणित गर्नुपर्ने उनको भनाइ थियो।

“रास्वपाको शक्ति केवल आलोचनामा होइन, विकल्प प्रस्तुत गर्नमा छ। हामीले प्रमाणित गर्नुपर्छ कि नयाँ पुस्ता प्रश्न मात्र सोध्न होइन, उत्तर दिन पनि सक्षम छ; विरोध मात्र होइन, समाधान दिन पनि सक्छ,” उनले बताए।

 

तपाईको प्रतिक्रिया