कतारी खेलाडी मादिबोलाई पाँच खेल प्रतिबन्ध, क्यानडाका कोनेको खुट्टा भाँचिएको घटनामा कारबाही
भ्यानकुभर । क्यानडाका मिडफिल्डर इस्माएल कोनेलाई गम्भीर चोट पुर्याउने कतारी खेलाडी आसिम मादिबोलाई फिफाले पाँच खेलको प्रतिबन्ध लगाएको छ।
विश्वकप अन्तर्गत गत बिहीबार भएको खेलमा क्यानडाले कतारलाई ६–० ले पराजित गर्ने क्रममा मादिबोले कोनेमाथि खतरनाक ट्याकल गरेका थिए। उक्त घटनापछि रातो कार्ड पाएका मादिबोलाई फिफाको अनुशासन समितिले ‘गम्भीर खराब खेल’ ठहर गर्दै पाँच खेल प्रतिबन्धको निर्णय सुनाएको हो।
ट्याकलका कारण कोनेको बायाँ खुट्टाको घुँडामुनिको हड्डी भाँचिएको थियो। उनको सफल शल्यक्रिया भइसकेको छ। खेलपछि भावुक बनेका मादिबोले क्यानडाको ड्रेसिङ रुममै पुगेर कोनेसँग व्यक्तिगत रूपमा माफी मागेका थिए भने पछि अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिएका थिए।
सामाजिक सञ्जालमार्फत कोनेले शुभेच्छुकहरूलाई धन्यवाद दिँदै आफूले पाएको साथ र प्रार्थनाप्रति आभार व्यक्त गरेका छन्।
तपाईको प्रतिक्रिया