सेयर बजार घटेर २६६० मा झर्यो, ४ अर्ब ४१ करोडको सेयर किनबेच
काठमाडौं । सेयर बजारमा गिरावटको क्रम बुधबार पनि कायम रह्यो। कारोबारको अन्त्यमा बजार मापक सूचक १४.४५ अंकले घट्दै २६६०.०२ विन्दुमा पुगेको छ।
आजको कारोबारमा अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लागेको छ। कुल कारोबार भएका कम्पनीमध्ये ६२ कम्पनीको सेयर मूल्य बढ्दा २०२ कम्पनीको मूल्य घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार ४ अर्ब ४१ करोड ८६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। यस अवधिमा १ करोड ७ लाख ७७ हजार ५८२ कित्ता सेयर ७२ हजार ९१७ पटक किनबेच भएको थियो।
बजार समग्र रूपमा घटे पनि केही कम्पनीका लगानीकर्ताले उल्लेख्य लाभ कमाएका छन्। टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बलिङ हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ। त्यस्तै झुजुङ हाइड्रो, सीवाईसी नेपाल लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सलगायत कम्पनीको सेयर मूल्य पनि उल्लेख्य रूपमा बढेको छ।
समूहगत प्रदर्शनतर्फ फाइनान्स र ट्रेडिङ उपसमूहमा हरियाली देखिएको छ भने बाँकी सबै उपसमूहका सूचक घटेका छन्।
तपाईको प्रतिक्रिया