काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा स्वीडेनसँग १–१ को बराबरी खेलेपछि जापानले नकआउट चरण (राउन्ड अफ ३२) मा स्थान सुरक्षित गरेको छ।
अमेरिकाको डलास स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा जापानलाई अघिल्लो चरण पुग्न कम्तीमा एक अंक आवश्यक थियो, जुन उसले बराबरीसँगै हासिल गर्यो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा जापानले ५६औँ मिनेटमा अग्रता लियो। दाइजेन माएदाले उत्कृष्ट फिनिस गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए।
तर स्वीडेनले छिट्टै खेलमा पुनरागमन गर्यो। ६२औँ मिनेटमा एन्थोनी एलाङ्गाले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।
त्यसपछि स्वीडेनले विजयी गोलका लागि लगातार दबाब सिर्जना गरे पनि जापानको अनुशासित रक्षापंक्तिले कुनै थप गोल हुन दिएन। अन्तिमसम्म बराबरी कायम रहँदा दुवै टोलीले एक–एक अंक बाँडे।
यो नतिजासँगै जापान समूह चरण पार गर्दै राउन्ड अफ ३२ मा प्रवेश गरेको छ। यता, ४ अंक जोडेको स्वीडेन पनि उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीमध्ये एक बन्दै नकआउट चरणमा पुग्न सफल भएको छ।
तपाईको प्रतिक्रिया