शनिबार १३ असार २०८३
राजनीति

२३ वर्षीया आकांक्षा रास्वपाको केन्द्रीय सदस्य

शुक्रबार असार १२, २०८३/ Friday 06-26-26

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट २३ वर्षीया आकाङ्क्षा पोखरेल केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। बागमती प्रदेशको भूगोलतर्फबाट प्रतिस्पर्धा गरेकी उनले ८८० मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा स्थान सुरक्षित गरेकी हुन्।

भरतपुर निवासी पोखरेल पत्रकारिताबाट राजनीतिक यात्रामा प्रवेश गरेकी युवा नेतृ हुन्। उनले चितवनमा करिब दुई वर्ष पत्रकारितामा सक्रिय भूमिका निर्वाह गरेकी थिइन्। हाल उनी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, सङ्घीय मामिला एवं सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयमा कार्यरत छिन्।

रास्वपाको स्थापना कालदेखि नै पार्टी गतिविधिमा सक्रिय पोखरेलले यसअघि भरतपुर महानगर समितिको सदस्य तथा महानगर कोषाध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेकी छन्।

निर्वाचनमा विजयी भएपछि उनले आफू नेपालका प्रमुख राजनीतिक दलहरूमध्ये सम्भवतः सबैभन्दा कम उमेरमा केन्द्रीय सदस्य बन्न सफल भएको दाबी गरिन्। उनले नयाँ पुस्ताको अपेक्षा र सोचअनुसार पार्टीलाई अघि बढाउन आफ्नो भूमिका प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै आफूलाई विश्वास गरेर मतदान गर्ने महाधिवेशन प्रतिनिधि, पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकप्रति आभार व्यक्त गरिन्।

तपाईको प्रतिक्रिया