आइतबार १४ असार २०८३
बिश्वो

इरान–अमेरिका द्वन्द्व फेरि चर्कियो, दुवै पक्षबाट कडा चेताव

शनिबार असार १३, २०८३/ Saturday 06-27-26

एजेन्सी। इरान–अमेरिका तनाव थप चर्किँदै गएको छ। इरानको सरकारी समाचार एजेन्सीका अनुसार आईआरजीसी (इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स) ले इरानी तटीय क्षेत्रमा भएको अमेरिकी हवाई आक्रमणको प्रतिकारस्वरूप अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ।

यसबीच इरानको संसदका सदस्य इब्राहिम अजिजीले अमेरिका युद्धविरामप्रति इमानदार नभएको आरोप लगाएका छन्। सामाजिक सञ्जाल एक्समार्फत उनले वार्ताको प्रक्रिया चलिरहेकै बेला अमेरिकाले पुनः आक्रमण गरेको दाबी गर्दै अमेरिकी नेतृत्वले वार्ता वा युद्धविरामको सिद्धान्तप्रति कुनै प्रतिबद्धता नदेखाएको टिप्पणी गरेका छन्।

उता अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँग युद्धविराम कार्यान्वयनबारे कुनै असहमति भए त्यसलाई संवादमार्फत समाधान गर्न सकिने बताएका छन्। उनले सम्झौताको सम्मान गर्नुपर्नेमा जोड दिँदै हिंसात्मक गतिविधिको जवाफ आवश्यक परे कडा रूपमा दिइने चेतावनी पनि दिएका छन्।

यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायल र लेबनानबीच भएको त्रिपक्षीय फ्रेमवर्क सम्झौतामा अमेरिकाको भूमिका महत्त्वपूर्ण रहेको बताएका थिए। उनले उक्त सम्झौताले शान्ति, समृद्धि र सहअस्तित्वतर्फ अर्थपूर्ण सुरुवात गरेको उल्लेख गर्दै अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन्।

यता खातम अल–अन्बिया सेन्ट्रल हेडक्वार्टरका आधिकारिक सैन्य प्रवक्ता इब्राहिम अल–फिकारले अमेरिकाबाट हुने कुनै पनि थप आक्रमणको कडा जवाफ दिइने चेतावनी दिएका छन्।

 

तपाईको प्रतिक्रिया