आइतबार १४ असार २०८३
समाज

असार २२ देखि साउन ४ सम्म धुलिखेल–खावा सडकखण्ड राति बन्द गरिने

शनिबार असार १३, २०८३/ Saturday 06-27-26

काभ्रे। अरनिको राजमार्गअन्तर्गत स्तरोन्नति भइरहेको धुलिखेल–खावा सडकखण्डमा कालोपत्रको कामलाई तीव्रता दिन १५ दिनसम्म रातिको समयमा सवारी आवागमन बन्द गरिने भएको छ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार असार २२ गतेदेखि साउन ४ गतेसम्म उक्त सडकखण्डमा राति सवारी सञ्चालनमा रोक लगाइनेछ। कालोपत्रको काम सहज बनाउन टिपर तथा ठूला मालवाहक ट्रकलाई उक्त अवधिभर पूर्ण रूपमा प्रवेश निषेध गरिएको छ।

यस्तै, अन्य यात्रुवाहक तथा मालवाहक सवारीसाधनलाई बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म मात्रै उक्त सडकखण्डमा आवागमन गर्न रोक लगाइनेछ।

जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार आर्थिक वर्षको अन्त्यका कारण निर्माण सामग्री ढुवानीमा असर नपरोस् भन्ने उद्देश्यले निर्माण कार्यको तालिका मिलाइएको हो।

समितिले यात्रु तथा मालवाहक सवारीसाधनलाई सकेसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। यद्यपि, एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारीसाधन भने तोकिएको अवधिमा पनि पूर्ववत् सञ्चालन गर्न दिइनेछ।

सवारी व्यवस्थापनका लागि काठमाडौं, भक्तपुर, दोलखा र सिन्धुपाल्चोकका जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरिने पनि जनाइएको छ।

यसअघि गत चैतमा पनि यही सडकखण्डमा करिब एक महिनासम्म रातिको समयमा आवागमन बन्द गरी २.५ किलोमिटर सडकमा डिबिएम–पीच (कालोपत्र) गर्ने काम सम्पन्न गरिएको थियो।

 

तपाईको प्रतिक्रिया