काठमाडौँ । सुरक्षित पुनर्स्थापनाको व्यवस्था नगरी होल्डिङ सेन्टर खाली गराउन खोजिएको भन्दै भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूले शनिबार काठमाडौँमा प्रदर्शन गरेका छन्।
माइतीघरदेखि बबरमहलसम्म आयोजित प्रदर्शनमा सहभागीहरूले सुरक्षित पुनर्स्थापना, भू–स्वामित्वसहितको आवास अधिकार र सम्मानजनक बसोबासको सुनिश्चितता नभएसम्म कुनै पनि परिवारलाई बलपूर्वक होल्डिङ सेन्टरबाट नहटाउन सरकारसँग माग गरेका छन्।
उनीहरूले सरकारले यसअघि गरेका प्रतिबद्धता कार्यान्वयन गर्दै संविधान र कानुनअनुसार दिगो, न्यायपूर्ण र मानवीय समाधान तत्काल अघि बढाउनुपर्ने बताएका छन्। यदि पुनर्स्थापना गर्ने हो भने घर भत्काइएको स्थानमै वा कानुनअनुसार उपयुक्त स्थानमा भू–स्वामित्वसहित स्थायी बसोबासको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।
प्रदर्शनका क्रममा होल्डिङ सेन्टरमा बसोबास गरिरहेका दलमर्दन कामीले त्यहाँ रहेका परिवारमाथि बारम्बार स्थान खाली गर्न दबाब दिइएको आरोप लगाए। उनका अनुसार विभिन्न सरकारी निकाय र प्रहरीबाट २५ हजार रुपैयाँ लिएर होल्डिङ सेन्टर छाड्न दबाब दिइएको छ, जसका कारण त्यहाँ बस्नेहरू मानसिक तनावमा परेका छन्।
सरकारले आफूहरूलाई उचित विकल्पबिनै सडकमा पुर्याउने प्रयास गरेको आरोप लगाउँदै प्रदर्शनकारीहरूले तत्काल दीर्घकालीन समाधानको माग गरेका छन्। उनीहरूले "डोजर होइन, समाधान दे", "जनता मार्न पाइँदैन", "यस्तो सरकार चाहिँदैन" र "गरिबमाथिको ज्यादती बन्द गर" लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका थिए।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार सूचना जारी गर्दै असार १९ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएपछि प्रभावित परिवारहरू आन्दोलनमा उत्रिएका हुन्।
तपाईको प्रतिक्रिया