बुधबार १७ असार २०८३
राजनीति

कोशी प्रदेशसभा बैठक पुनः स्थगित

मंगलबार असार १६, २०८३/ Tuesday 06-30-26

विराटनगर । कोशी प्रदेश सरकारको बजेटलाई लिएर सत्तारुढ दलभित्रै देखिएको असन्तुष्टि समाधान हुन नसक्दा प्रदेशसभा बैठक पुनः स्थगित गरिएको छ। मंगलबार दिउँसो १ बजे बस्ने तय भएको प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गत १६औँ बैठक अब असार १८ गते बिहीबार दिउँसो १ बजे बस्ने गरी सारिएको हो।

प्रदेशसभा सचिवालयका सचिव सुदर्शन खड्काले जारी गरेको सूचनाअनुसार सरकारकै अनुरोधमा बैठकको मिति परिवर्तन गरिएको हो। यसअघि असार ११ गतेका लागि तोकिएको बैठक पनि विशेष कारण देखाउँदै स्थगित गरेर असार १६ का लागि सारिएको थियो।

बजेट विनियोजन असन्तुलित रहेको र केही क्षेत्रमा मात्रै केन्द्रित गरिएको भन्दै सत्तारुढ गठबन्धनका असन्तुष्ट सांसद तथा प्रतिपक्षले संशोधनको माग गर्दै आएका छन्। यही विषयमा मुख्यमन्त्री हिक्मतकुमार कार्की र असन्तुष्ट सांसदहरूबीच छलफल भए पनि सहमति हुन सकेन।

नेपाली कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीका अनुसार असन्तुष्ट पक्षले बजेटलाई सन्तुलित बनाउँदै संशोधित अनुसूचीसहित विनियोजन विधेयककै अभिन्न अङ्गका रूपमा प्रस्तुत गर्नुपर्ने अडान राखेको छ। तर मुख्यमन्त्रीले पहिले विनियोजन विधेयक अघि बढाएर बजेट संशोधनको विषय पछि छलफल गर्ने प्रस्ताव गरेपछि दुवै पक्षबीच सहमति जुट्न सकेन।

असन्तुष्ट सांसदहरूले आफ्ना माग सम्बोधन नभएसम्म प्रदेशसभाको कार्यवाही अघि बढ्न नदिने चेतावनी दिएका छन्। उनीहरूले बजेटमा आवश्यक सुधार नगरेसम्म सदनमा निरन्तर विरोध जनाउने बताएका छन्।

मुख्यमन्त्री कार्कीले सबै पक्षसँग थप छलफल गरेर समाधान खोज्न समय मागेपछि सरकारकै आग्रहमा प्रदेशसभा बैठक पुनः स्थगित गरिएको जनाइएको छ।

यता, बैठक स्थगित भएपछि एमालेका सांसद तथा पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीले सामाजिक सञ्जालमार्फत सरकारको आलोचना गरेका छन्। उनले बजेटका कारण मन्त्रीहरू नै अप्ठ्यारोमा परेको संकेत गर्दै व्यंग्यात्मक टिप्पणी गरेका छन्।

तपाईको प्रतिक्रिया