काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ओरालो लागेको छ। यस दिन नेप्से २४.६३ अंकले घटेर २,६०८.३३ विन्दुमा पुगेर बन्द भएको हो।
बजार घटे पनि कारोबार रकममा भने वृद्धि देखिएको छ। सोमबार २ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ३ अर्ब २५ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यस अवधिमा ३६५ कम्पनीका ८७ लाख ३७ हजार ३९२ कित्ता सेयर कारोबार भए।
आजको कारोबारमा ३५ कम्पनीको सेयर मूल्य बढ्दा २३५ कम्पनीको मूल्य घटेको छ भने पाँच कम्पनीको मूल्य स्थिर रहेको छ।
मूल्य वृद्धितर्फ स्नो रिभर्स सबैभन्दा अगाडि रह्यो। कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर प्रतिकित्ता ४५४ रुपैयाँ २० पैसामा पुगेको छ। त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १३.०४ प्रतिशतले उकालो लाग्दै प्रतिकित्ता १,८९९ रुपैयाँ कायम भएको छ।
यता, टक्सार पिखुवा खोला हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १४.०३ प्रतिशतले घटेर प्रतिकित्ता ५९६ रुपैयाँ ३० पैसामा झरेको छ। याम्बालिङ हाइड्रोपावरको सेयर पनि ८.२३ प्रतिशतले घट्दै प्रतिकित्ता ६३६ रुपैयाँ ५० पैसामा सीमित भएको छ।
कारोबार रकमका आधारमा सिद्धार्थ बैंक अग्रस्थानमा रह्यो। बैंकको १३ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने यसको सेयर मूल्य ०.१० प्रतिशतले घटेर प्रतिकित्ता ३८७ रुपैयाँ १० पैसामा कायम भएको छ। कारोबार रकमकै आधारमा टक्सार पिखुवा खोला हाइड्रोपावर दोस्रो स्थानमा रह्यो, जहाँ ११ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो।
समूहगत परिसूचकतर्फ कारोबारमा आएका सबै १३ समूह नै राताम्मे बने। तीमध्ये व्यापार समूह सर्वाधिक १.७४ प्रतिशतले घट्दै सबैभन्दा बढी दबाबमा परेको देखिएको छ।
तपाईको प्रतिक्रिया