हुलाकलाई सरकारी कुरियर सेवाका रूपमा विकास गरिँदैछ : सञ्चारमन्त्री तिमिल्सिना
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई प्रविधिमैत्री, आधुनिक र विश्वसनीय बनाउँदै सरकारी सेवा नागरिकको घरदैलोसम्म पुर्याउने प्रभावकारी माध्यमका रूपमा विकास भइरहेको बताएका छन्।
मंगलबार काठमाडौंमा हुलाक सेवा विभागले आयोजना गरेको हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले परम्परागत हुलाक सेवाको स्वरूपलाई समयअनुकूल रूपान्तरण गरी विशिष्टीकृत सरकारी कुरियर सेवाका रूपमा विस्तार गर्ने सरकारको योजना रहेको जानकारी दिए।
उनले सूचना प्रविधिको तीव्र विकाससँगै हुलाक सेवाको कार्यशैलीमा परिवर्तन आएको भए पनि यसको आवश्यकता र उपयोगिता अझै उत्तिकै महत्त्वपूर्ण रहेको बताए। डिजिटाइजेसनले हुलाक सेवाको भूमिका कमजोर नबनाएको उल्लेख गर्दै उनले आधुनिक प्रविधिसँग जोडेर सेवाको पहुँच र गुणस्तर थप विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए।
मन्त्री तिमिल्सिनाले सरकारी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सार्वजनिक र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको धारणा पनि राखे। सबै जिम्मेवारी सरकारले मात्र वहन गर्न नसक्ने भएकाले निजी क्षेत्रसँग साझेदारी र सरकारी निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनले बताए।
तपाईको प्रतिक्रिया