होटल–रेस्टुरेन्टमा खाद्य गुणस्तर अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन
काठमाडौं । मुलुकभर सञ्चालनमा रहेका केही होटल तथा रेस्टुरेन्टमा खाद्य गुणस्तर र सरसफाइ कमजोर रहेको गुनासो बढेपछि गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई विशेष निर्देशन जारी गरेको छ।
मन्त्रालयले २०८३ असार १५ गते सबै प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई पत्राचार गर्दै बजार अनुगमनलाई प्रभावकारी बनाउन, नागरिकको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न तथा प्रशासनिक जवाफदेहिता बढाउन उच्च प्राथमिकताका साथ काम गर्न निर्देशन दिएको हो।
निर्देशनअनुसार अब होटल तथा रेस्टुरेन्टमा उपलब्ध गराइने खानाको गुणस्तर र खाद्य स्वच्छतासम्बन्धी नियमित, सघन तथा आकस्मिक अनुगमन गरिनेछ। गृहमन्त्री सुधन गुरुङको निर्देशनमा जारी उक्त परिपत्रमा अनुगमनलाई औपचारिकतामा सीमित नराखी परिणाममुखी बनाउन र नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने वा प्रचलित कानुन उल्लङ्घन गर्ने पक्षमाथि कानुनअनुसार कडा कारबाही गर्न स्थानीय प्रशासनलाई भनिएको छ।
मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षा र उपभोक्ता अधिकारको संरक्षण राज्यको प्राथमिक दायित्व भएको उल्लेख गर्दै प्रत्येक जिल्ला प्रशासन कार्यालयमा हटलाइन वा द्रुत सेवा डेस्कसहित प्रभावकारी गुनासो सुनुवाइ संयन्त्र तत्काल स्थापना गर्न पनि निर्देशन दिएको छ। नागरिकबाट प्राप्त हुने गुनासोलाई उच्च प्राथमिकतामा राखी तत्काल सम्बोधन गर्न आग्रह गरिएको छ।
यस्तै, स्थानीय तहमा देखिएका समस्या र गुनासाको समाधान जिल्ला प्रशासन कार्यालय तथा प्रमुख जिल्ला अधिकारीकै नेतृत्वमा गर्नुपर्ने मन्त्रालयको भनाइ छ। साना–ठूला प्रशासनिक विषयमा नागरिकले मन्त्रालय वा केन्द्रसम्म धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्यसहित स्थानीय प्रशासनलाई थप जिम्मेवार बन्न आग्रह गरिएको छ।
मन्त्रालयले जिल्लाको कार्यसम्पादन प्रत्यक्ष रूपमा सुपरिवेक्षण गर्ने जनाउँदै कार्यसम्पादनमा कुनै पनि प्रकारको लापरबाही वा उदासीनता स्वीकार्य नहुने चेतावनी दिएको छ।
शाखा अधिकृत संगम सापकोटाद्वारा हस्ताक्षरित निर्देशनमा नागरिक केन्द्रित सुशासन, बजारमा विधिको शासन र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न स्थानीय प्रशासनले पूर्ण व्यावसायिकताका साथ निर्देशन कार्यान्वयन गर्ने अपेक्षा गरिएको उल्लेख गरिएको छ।
तपाईको प्रतिक्रिया