रास्वपाका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यले लिए शपथ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रथम महाधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले बुधबार शपथ ग्रहण गरेका छन्।
पार्टीको केन्द्रीय कार्यालय, बनस्थलीमा आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न भएको थियो। उक्त महाधिवेशनबाट ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
शपथ ग्रहण सम्पन्न भएपछि सभापति लामिछानेले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई पार्टीको प्रतीकस्वरूप घण्टीजडित मायाको चिनो र प्रमाणपत्र प्रदान गरेका छन्।
यसैबीच, आज नै नवगठित केन्द्रीय समितिको पहिलो बैठक बस्ने तयारी गरिएको छ। बैठकमा पार्टीले मनोनयन गर्ने ५१ जना केन्द्रीय सदस्यको विषयमा छलफल हुने जनाइएको छ।
उल्लेखनीय छ कि रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका थिए।
तपाईको प्रतिक्रिया