उच्च अंकले बढ्यो सेयर बजार, ३ अर्ब ८६ करोडमाथिको कारोबार
काठमाडौं । लगातार सात कारोबार दिनसम्म ओरालो लागेको सेयर बजारले बुधबार भने सुधारको संकेत देखाएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४४.५९ अंकले उकालो लाग्दै २६५२.९३ विन्दुमा पुगेको छ।
आजको कारोबारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ। २५२ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा १७ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ।
बजारमा कुल तीन अर्ब ८६ करोड ११ लाख ८३ हजार ४१० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस अवधिमा ९५ लाख ४७ हजार ६७८ कित्ता सेयर ५६ हजार ८५० पटक किनबेच भएका छन्।
कारोबारका क्रममा स्नो रिभर्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। उच्च कारोबार हुने कम्पनीहरूको सूचीमा सीवाईसी नेपाल लघुवित्त, भुजुङ हाइड्रो, कुथेली बुखरी स्मल हाइड्रो र मिड सोलु हाइड्रो रहेका छन्।
समूहगत प्रदर्शनतर्फ १३ वटै उपसूचक हरियालीमा रहे। विशेषगरी व्यापार, उत्पादन तथा प्रशोधन, जलविद्युत् र निर्जीवन बिमा समूहका सूचक दुई प्रतिशतभन्दा बढीले वृद्धि भएका छन्।
तपाईको प्रतिक्रिया