एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को पूरक (ग्रेडवृद्धि) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। यसपटक परीक्षामा सहभागीमध्ये ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार पूरक परीक्षामा सहभागी एक लाख २९ हजार ११४ परीक्षार्थीमध्ये ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन्।
बोर्डका अनुसार गत असार १ देखि ९ गतेसम्म सञ्चालन भएको पूरक परीक्षाका लागि एक लाख ४६ हजार ५०७ जनाले आवेदन दिएका थिए। तीमध्ये एक लाख २९ हजार ११४ जना मात्रै परीक्षामा सहभागी भएका थिए।
विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड तथा परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट, एसएमएस, युएसएसडी (USSD) र आइभीआर (IVR) सेवामार्फत नतिजा हेर्न सक्नेछन्। साथै, सिम्बोल नम्बर र जन्ममिति प्रयोग गरी ग्रेडसिट डाउनलोड गर्ने व्यवस्था पनि गरिएको बोर्डले जनाएको छ।
नतिजाप्रति चित्त नबुझेका परीक्षार्थीले असार २५ देखि ३१ गतेसम्म अनलाइनमार्फत पुनर्योग, उत्तरपुस्तिका अवलोकन तथा पुनः परीक्षणका लागि आवेदन दिन सक्ने बोर्डले जनाएको छ।
तपाईको प्रतिक्रिया