काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहसँग एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डाले शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा नेपाल र एडीबीबीच विगत छ दशकदेखि कायम विकास साझेदारीलाई अझ प्रभावकारी र सुदृढ बनाउने विषयमा छलफल भएको छ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार करिब आधा घण्टा चलेको भेटवार्तामा प्रधानमन्त्री शाहले सुशासन, पारदर्शिता र प्रभावकारी कार्यशैलीमार्फत नेपालको विकासले नयाँ गति लिने विश्वास व्यक्त गरेका थिए। साथै जलविद्युत् र पर्यटनलाई मुलुकको आर्थिक विकासका प्रमुख आधारका रूपमा अघि बढाउने, डिजिटल प्रविधिको विस्तार तथा पर्यटकीय सडक पूर्वाधार विकासमा सहकार्य गर्ने विषयमा पनि सकारात्मक संवाद भएको थियो।
भेटका क्रममा एडीबी अध्यक्ष कान्डाले नेपालप्रति विकास सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै एडीबी नेपालको आर्थिक समृद्धिको दीर्घकालीन साझेदारका रूपमा साथ रहने बताए। उनले नेपालको आर्थिक सम्भावना, बलियो जनादेश र युवा नेतृत्वको प्रशंसा गर्दै सुधारमुखी प्रयासहरू प्रेरणादायी रहेको उल्लेख गरे।
यसअघि सोमबार नेपाल सरकार र एडीबीबीच १६ करोड ५० लाख अमेरिकी डलर (करिब २२ अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको थियो। अर्थ मन्त्रालयमा सम्पन्न कार्यक्रममा दुई छुट्टाछुट्टै आयोजनाका लागि उक्त सम्झौता गरिएको हो।
सरकारका अनुसार ऋण सहयोग मुख्यतः भन्सार प्रणालीलाई प्रविधिमैत्री बनाउने, जोखिममा आधारित जाँचपास प्रणाली लागू गर्ने तथा व्यापार प्रक्रियालाई सहज र कम खर्चिलो बनाउने कार्यमा उपयोग गरिनेछ। साथै सीमापार व्यापारलाई थप व्यवस्थित, पारदर्शी र अनुमानयोग्य बनाउन पनि यस परियोजनाले योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सरकारले आयोजना सफलतापूर्वक कार्यान्वयन भएमा देशभित्र रोजगारीका नयाँ अवसर सिर्जना हुने र क्षेत्रीय मूल्य शृङ्खलामा नेपालको सहभागिता थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ।
तपाईको प्रतिक्रिया