मंगलबार २३ असार २०८३
अर्थ

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल

मंगलबार असार २३, २०८३/ Tuesday 07-07-26

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेट प्रदेशसभामा टेबल गरिएको छ। बजेट सार्वजनिक भएको २२ दिनपछि मंगलबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले बजेटसँग सम्बन्धित विधेयकहरू प्रस्तुत गरेका हुन्।

सभामुख भीमबहादुर भण्डारीले समय उपलब्ध गराएपछि मन्त्री धामीले प्रदेशको आर्थिक प्रस्ताव कार्यान्वयनका लागि तयार गरिएको आर्थिक विधेयक तथा प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धी विनियोजन विधेयक सभामा टेबल गरे।

बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले महालेखापरीक्षकको आठौँ वार्षिक प्रतिवेदन–२०८३, थारू आयोग, मुस्लिम आयोग तथा मधेसी आयोगका सातौँ वार्षिक प्रतिवेदन पनि प्रदेशसभामा पेस गरे।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट ल्याएको छ। बजेटका लागि आन्तरिक राजस्वबाट एक अर्ब ७२ करोड, राजस्व बाँडफाँटमार्फत संघीय सरकारबाट १० अर्ब २४ करोड ९२ लाख ६६ हजार, वित्तीय समानीकरण अनुदानबाट नौ अर्ब ६ करोड ३३ लाख, सशर्त अनुदानबाट छ अर्ब ३ करोड ५८ लाख तथा अन्य विभिन्न शीर्षकबाट आवश्यक स्रोत जुटाइने अनुमान गरिएको छ। साथै अघिल्लो आर्थिक वर्षको बचत रकम नौ अर्ब ६५ करोड रुपैयाँ पनि बजेटको स्रोतका रूपमा समावेश गरिएको छ।

गत असार १ गते बजेट सार्वजनिक भए पनि सत्तारूढ दलहरूबीच देखिएको मतभेदका कारण बजेटमाथिको संसदीय प्रक्रिया रोकिएको थियो। २२ दिनपछि बजेट प्रदेशसभामा टेबल भएसँगै अब आगामी बैठकमा बजेटमाथि विस्तृत छलफल अघि बढ्नेछ।

प्रदेशसभाको अर्को बैठक भने सूचना प्रकाशित भएपछि मात्र बस्ने गरी हालका लागि स्थगित गरिएको सभामुख भण्डारीले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया