मंगलबार २३ असार २०८३
समाज

यूएईले १११ नेपाली कैदीलाई दियो आममाफी

मंगलबार असार २३, २०८३/ Tuesday 07-07-26

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले ईद अल–अधा २०२६ को अवसर पारेर १११ जना नेपाली नागरिकलाई आममाफी प्रदान गरेको छ।

परराष्ट्र मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा यूएई सरकारको यस निर्णयप्रति नेपाल सरकारले आभार व्यक्त गरेको जनाएको छ।

मन्त्रालयका अनुसार परराष्ट्र मन्त्रालयको पहल तथा अबुधाबीस्थित नेपाली दूतावासको अनुरोधपछि यूएई सरकारले उक्त संख्यामा रहेका नेपाली कैदीलाई आममाफी दिने निर्णय गरेको हो।

आममाफी प्राप्त गरेका नेपाली नागरिकमाथि अन्य कुनै कानुनी मुद्दा वा यात्रा प्रतिबन्ध नरहेको अवस्थामा यूएईको प्रचलित कानुनअनुसार आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि उनीहरू स्वदेश फर्किन सक्नेछन्।

परराष्ट्र मन्त्रालयले नेपाल–यूएईबीच रहेको मैत्रीपूर्ण र सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धको निरन्तरताका रूपमा यस निर्णयलाई सद्भाव र आपसी विश्वासको महत्वपूर्ण उदाहरणका रूपमा लिएको जनाएको छ।

तपाईको प्रतिक्रिया