२६५१ विन्दुमा नेप्से, कारोबार रकम ४ अर्ब ४० करोड नाघ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबारको कारोबार उत्साहजनक देखिएको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने तयारीसँगै सेयर बजारमा सकारात्मक प्रभाव परेको हो।
यस दिन नेप्से परिसूचक २४.५७ अंकले वृद्धि हुँदै २,६५१.६८ विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन सोमबार भने बजार २६ अंकले ओरालो लागेको थियो।
बजारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ। कारोबारमा सहभागी २१० कम्पनीको सेयर मूल्य उकालो लाग्दा ५७ कम्पनीको मूल्य घटेको छ भने १० कम्पनीको मूल्य यथावत् रहेको छ।
कारोबार रकम पनि उल्लेखनीय रह्यो। दिनभरमा ९५ लाख १९ हजार कित्ता सेयर ७२ हजार २२ पटक किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ४० करोड रुपैयाँ पुगेको छ।
आजको कारोबारमा कंलगा हाइड्रो, आरबीबी फोकस फन्ड, सनिगाड हाइड्रो, उपकार लघुवित्त र मन्दाकिनी हाइड्रोका लगानीकर्ताले सबैभन्दा बढी लाभ कमाएका छन्।
समूहगत प्रदर्शनतर्फ १३ वटै उपसूचक हरियालीमा रहे, जसले बजारमा समग्र रूपमा सकारात्मक वातावरण रहेको संकेत गरेको छ।
तपाईको प्रतिक्रिया