राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक, निजी क्षेत्रको कर्जा ११ प्रतिशतले बढाउने लक्ष्य
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति सार्वजनिक गर्दै निजी क्षेत्रमा जाने कर्जाको विस्तार ११ प्रतिशत पुर्याउने लक्ष्य निर्धारण गरेको छ। साथै, मुद्रास्फीति दरलाई ५.५ प्रतिशतको सीमाभित्र कायम राख्ने उद्देश्य पनि मौद्रिक नीतिले लिएको छ।
मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले यसअघि अवलम्बन गरिएको लचिलो मौद्रिक कार्यदिशालाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइएको जानकारी दिए। उनका अनुसार बैंक तथा वित्तीय संस्थाले आवश्यकताअनुसार शाखा विस्तार, स्थानान्तरण तथा समायोजन गर्न सहज हुने व्यवस्था गरिएको छ।
मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाको सञ्चालन लागत कम गर्न आवश्यक नीतिगत व्यवस्था गरिने उल्लेख गरिएको छ। साथै, बैंक दर, नीतिगत दर, निक्षेप संकलन दर, अनिवार्य नगद मौज्दात (सीआरआर) तथा वैधानिक तरलता अनुपात (एसएलआर) जस्ता प्रमुख मौद्रिक उपकरणहरू हालकै स्तरमा कायम राखिएको गभर्नर पौडेलले स्पष्ट पारे।
राष्ट्र बैंकका अनुसार वित्तीय प्रणालीमा स्थायित्व कायम राख्दै आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उद्देश्यसहित मौद्रिक नीति तयार गरिएको हो।
तपाईको प्रतिक्रिया