बुधबार २४ असार २०८३
खेलकुद

७८औँ मिनेटसम्म पछि परेको अर्जेन्टिना, १३ मिनेटमा ३ गोल गर्दै क्वार्टरफाइनलमा

बुधबार असार २४, २०८३/ Wednesday 07-08-26

काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत अर्जेन्टिनाले अविश्वसनीय पुनरागमन गर्दै इजिप्टलाई ३–२ गोलले पराजित गरेको छ। अमेरिकाको एटलान्टास्थित स्टेडियममा मंगलबार राति सम्पन्न प्रि–क्वार्टरफाइनल खेलमा दुई गोलले पछि परेको अवस्थाबाट उत्कृष्ट कमब्याक गर्दै अर्जेन्टिना अन्तिम आठ (क्वार्टरफाइनल) मा पुगेको हो।

खेलको ७८औँ मिनेटसम्म २–० ले पछि परेको अर्जेन्टिनाले त्यसपछि मात्र १३ मिनेटको अवधिमा लगातार तीन गोल गर्दै रोमाञ्चक जित हात पार्यो।

इजिप्टका लागि यासेर इब्राहिमले १५औँ मिनेटमा पहिलो गोल गरे भने ६७औँ मिनेटमा मोस्ताफा जिकोले दोस्रो गोल थप्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याएका थिए।

तर त्यसपछि अर्जेन्टिनाले शानदार पुनरागमन गर्‍यो। ७९औँ मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै अन्तर घटाए। त्यसको चार मिनेटपछि कप्तान लियोनल मेसीले बराबरी गोल गरे। इन्जुरी समयको तेस्रो मिनेटमा एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३–२ को ऐतिहासिक जित दिलाए।

यस जितसँगै अर्जेन्टिना विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ भने इजिप्टको यात्रा अन्तिम १६ बाटै समाप्त भएको छ।

 

तपाईको प्रतिक्रिया