पेनाल्टी सुटआउटमा कोलम्बियालाई हराउँदै स्विजरल्याण्ड क्वार्टरफाइनलमा
काठमाडौं। स्विजरल्याण्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।
क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा बुधबार बिहान सम्पन्न प्रि–क्वार्टरफाइनल खेलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटसम्म पनि दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।
तनावपूर्ण पेनाल्टी सुटआउटमा स्विजरल्याण्डका रुबेन भर्गासले निर्णायक पेनाल्टीलाई गोलमा परिणत गर्दै टोलीलाई अन्तिम आठमा पुर्याए। स्विजरल्याण्डका लागि सेड्रिक इटेन, जाकी अम्दौनी र ग्रानिट झाकाले पनि सफल प्रहार गरे भने म्यानुएल अकान्जीको प्रहार गोलपोस्टमाथिबाट बाहिरिएको थियो।
कोलम्बियाका तर्फबाट लुइस डियाज र जुआन क्विन्टेरोले पेनाल्टीमा गोल गरे। तर डेभिन्सन सान्चेजको प्रहार असफल रह्यो भने कुचो हर्नान्डेजको प्रहार स्विजरल्याण्डका गोलरक्षक ग्रेगोर कोबेलले उत्कृष्ट बचाउ गर्दै टोलीको जित सुनिश्चित गरे।
पूरै खेलभर दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि कुनै पनि अवसरलाई सदुपयोग गर्न सकेनन्। स्विजरल्याण्डले अनुशासित रक्षात्मक खेल प्रदर्शन गर्दै कोलम्बियाका आक्रमणलाई निष्प्रभावी बनाएको थियो।
हारसँगै कोलम्बियाको विश्वकप यात्रा अन्तिम १६ बाटै टुंगिएको छ। जितसँगै स्विजरल्याण्डले १९५४ पछि पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ। अब सेमिफाइनल प्रवेशका लागि स्विजरल्याण्डले अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ।
तपाईको प्रतिक्रिया