उद्योगी व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न सरकार तयार छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग, व्यापार, लगानी र आर्थिक सुधारका विषयमा निजी क्षेत्रका प्रमुख प्रतिनिधिसँग उच्चस्तरीय छलफल गरेका छन्। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने, लगानी आकर्षित गर्ने र उद्योग–व्यवसाय सञ्चालनमा देखिएका समस्या समाधान गर्ने विषयमा केन्द्रित भएर संवाद भएको हो।
छलफलका क्रममा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक विकास, उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा लगानी विस्तारमा निजी क्षेत्र सरकारको प्रमुख साझेदार भएको उल्लेख गर्दै उद्योगी–व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए।
उनले उद्योग तथा निजी क्षेत्रमैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत, कानुनी र प्रशासनिक सुधारलाई प्राथमिकतामा राखेर अघि बढाइने स्पष्ट पारे। साथै, लगानीमैत्री वातावरण सिर्जना, नीतिगत तथा प्रक्रियागत जटिलता हटाउने र निजी क्षेत्रको मनोबल बढाउने दिशामा सरकार सक्रिय रहने उनको भनाइ थियो।
छलफलमा सहभागी निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग–व्यवसाय प्रवर्द्धन, लगानी विस्तार, नीतिगत स्थिरता, सेवा प्रवाहलाई सरल बनाउने तथा सरकार र निजी क्षेत्रबीच नियमित र परिणाममुखी संवादको आवश्यकता औँल्याउँदै विभिन्न सुझाव दिएका थिए।
प्रधानमन्त्री शाहले प्राप्त सुझावलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै सम्बन्धित निकायमार्फत आवश्यक सुधार र सहजीकरणका काम अघि बढाइने बताए। आर्थिक सुधारको अभियानमा सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने उनको भनाइ थियो।
छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, उद्योग समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल, महानिर्देशक डा. घनश्याम ओझा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल तथा वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रालगायत निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
छलफलले उद्योग–व्यवसाय प्रवर्द्धन, लगानीको वातावरण सुधार तथा सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै निजी क्षेत्रमैत्री नीति निर्माणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
तपाईको प्रतिक्रिया