कार्यालय समयमा कर्मचारीले सामाजिक सञ्जाल चलाउन नपाउने
काठमाडौं । सरकारले सार्वजनिक प्रशासनलाई थप अनुशासित, पारदर्शी र जवाफदेही बनाउने उद्देश्यसहित सरकारी कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गरेको छ। नयाँ व्यवस्थाअनुसार अब कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न नपाइनेलगायत कर्मचारीको आचरण, सेवाग्राहीसँगको व्यवहार र सरकारी मर्यादासम्बन्धी प्रावधानमा कडाइ गरिएको छ।
भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्रालयले ‘कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, २०८३’ जारी गर्दै कार्यान्वयनमा ल्याएको हो। मन्त्रालयले सबै सरकारी कर्मचारीलाई आचारसंहिताको पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको जनाएको छ।
आचारसंहितामा कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोगमा रोक, सार्वजनिक अभिव्यक्तिमा संयम अपनाउनुपर्ने, सेवाग्राहीसँग शिष्ट र मर्यादित व्यवहार गर्नुपर्ने, सरकारी गोपनीयता कायम राख्नुपर्ने, निर्धारित पोशाक र आचरण पालना गर्नुपर्ने तथा कुनै पनि प्रकारको उपहार वा अनावश्यक सुविधा स्वीकार गर्न नपाइने व्यवस्था गरिएको छ।
सरकारले यसलाई प्रशासनिक सुधार अभियानको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेको छ। यसअघि सार्वजनिक गरिएको शासकीय सुधार कार्ययोजनाअनुसार कर्मचारीतन्त्रलाई निष्पक्ष, व्यावसायिक, अनुशासित र उत्तरदायी बनाउने लक्ष्य राखिएको थियो। नयाँ आचारसंहिता सोही लक्ष्य कार्यान्वयन गर्ने प्रयास भएको सरकारको दाबी छ।
पछिल्लो समय सरकारी कर्मचारीको सार्वजनिक अभिव्यक्ति, सामाजिक सञ्जालको प्रयोग, सेवा प्रवाहमा ढिलासुस्ती तथा अनुशासनसम्बन्धी गुनासो बढ्दै गएपछि सरकारले आचारसंहितामार्फत थप कडाइ गरेको हो।
यसअघि सरकारले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतका लागि छुट्टै आचारसंहिता लागू गरेको थियो। अहिले भने समग्र सरकारी प्रशासनमा कार्यरत कर्मचारीलाई एउटै मापदण्डमा बाँध्ने उद्देश्यसहित नयाँ आचारसंहिता कार्यान्वयनमा ल्याइएको छ।
तपाईको प्रतिक्रिया