शनिबार २४ असोज २०८३
समाज

चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन

शुक्रबार असोज २३, २०८३/ Friday 10-09-26

काठमाडौं । सरकारले चाडपर्वको समयमा स्वास्थ्य, खानेपानी, विद्युत्, दूरसञ्चार, विमानस्थल, यातायात तथा अस्पताललगायत अत्यावश्यक सेवाहरू नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित प्रेस ब्रिफिङमार्फत सरकारले उक्त निर्णय सार्वजनिक गरेको हो। कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले चाडपर्वका बेला सेवामा अवरोध हुन नदिन आवश्यक तयारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको जानकारी दिए।

उनका अनुसार अत्यावश्यक सेवाका लागि आवश्यक जनशक्ति, औषधि तथा उपकरण तयारी अवस्थामा राख्न र नागरिकले सेवा लिने क्रममा अनावश्यक सास्ती भोग्न नपर्ने व्यवस्था मिलाउन भनिएको छ। यससम्बन्धी निर्देशन पत्राचारमार्फत सम्बन्धित निकायमा पठाइसकिएको उनले बताए।

यसैबीच, स्वदेशी तथा विदेशी लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले लगानीसम्बन्धी सेवा प्रवाहलाई सरल, पारदर्शी, समयबद्ध र पूर्वानुमानयोग्य बनाउने तयारी अघि बढाएको छ।

प्रवक्ता अर्यालका अनुसार लगानी अभिवृद्धि गर्ने लक्ष्यसहित ‘राष्ट्रिय एक्सप्रेस लगानी प्रणाली सञ्चालन तथा व्यवस्थापन कार्यविधि’को मस्यौदा तयार भइरहेको छ। उक्त कार्यविधिले लगानीसम्बन्धी प्रक्रियालाई थप सहज र व्यवस्थित बनाउन सहयोग पुग्ने सरकारको अपेक्षा छ।

तपाईको प्रतिक्रिया