शनिबार २४ असोज २०८३
राजनीति

लगानी बोर्डको बैठक: दुई जलविद्युत् परियोजनाका लागि करिब २१ अर्ब लगानी स्वीकृत

शुक्रबार असोज २३, २०८३/ Friday 10-09-26

काठमाडौं । लगानी बोर्डले दुई जलविद्युत् आयोजनाका लागि २१ अर्ब रुपैयाँभन्दा बढी लगानी स्वीकृत गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको बोर्डको ६८औँ बैठकले नार खोला र सानी भेरी–३ अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा लगानी स्वीकृत गर्ने निर्णय गरेको हो।

बैठकले ५८.९ मेगावाट क्षमताको नार खोला जलविद्युत् आयोजनाका लागि १० अर्ब ७५ करोड ४ लाख ९७ हजार रुपैयाँ तथा ४६.७२ मेगावाट क्षमताको सानी भेरी–३ आयोजनाका लागि १० अर्ब ४२ करोड ३३ लाख ६२ हजार रुपैयाँ लगानी स्वीकृत गरेको छ।

यसैगरी, ९०० मेगावाट क्षमताको अरुण–३ जलविद्युत् आयोजनाले सन् २०२८ फेब्रुअरीसम्म व्यावसायिक उत्पादन सुरु गर्ने विषयलाई बैठकले अघि बढाएको छ। त्यस्तै, ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली आयोजनाको निर्माण कार्य परियोजना विकास सम्झौताअनुसार तत्काल अघि बढाउन आवश्यक सहजीकरण गर्ने निर्णय भएको छ।

आयोजना कार्यान्वयन तथा लगानीकर्तालाई उपलब्ध गराइने सेवामा सहजीकरण गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई आवश्यक अधिकार प्रत्यायोजन गर्ने निर्णय पनि बैठकले गरेको छ।

बोर्डले आह्वान नगरेका प्रस्तावलाई आवश्यकताअनुसार प्रतिस्पर्धात्मक स्वीस च्यालेन्ज विधिबाट अघि बढाउन कानुनी व्यवस्था गर्नसमेत कार्यालयलाई निर्देशन दिएको छ।

त्यस्तै, कृत्रिम बुद्धिमत्तालगायत नवीनतम सूचना प्रविधिमा आधारित पूर्वाधार परियोजनामा लगानी प्रस्ताव आएमा नवीकरणीय ऊर्जाको उपयोग र रोजगारी सिर्जनामा पुर्‍याउने योगदानका आधारमा प्राथमिकता दिने निर्णय गरिएको छ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठ, कृषिमन्त्री गीता चौधरी, उद्योगमन्त्री दीपककुमार साह, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, मुख्यसचिव गोविन्दबहादुर कार्कीलगायत उच्चपदस्थ अधिकारी सहभागी थिए।

 

तपाईको प्रतिक्रिया