बिहीबार २२ असोज २०८३
राजनीति

कांग्रेस १५औँ महाधिवेशन : एसिया क्षेत्रबाट विनोद थापा केन्द्रीय सदस्यको उम्मेदवार

बुधबार असोज २१, २०८३/ Wednesday 10-07-26

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाली जनसम्पर्क समिति, मलेसियाका प्रमुख संरक्षक विनोदबहादुर थापाले एसिया क्षेत्रबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।

प्रवासी नेपालीका आवाज, समस्या, अधिकार तथा सम्मानका विषयलाई पार्टीको केन्द्रीय तहसम्म प्रभावकारी रूपमा उठाउने प्रतिबद्धतासहित थापाले उम्मेदवारी दिएका हुन्।

थापाले प्रवासमा रहेका नेपालीका समस्या पहिचान गरी समाधानका लागि पहल गर्ने, उनीहरूको आवाजलाई पार्टीको केन्द्रीय तहसम्म पुर्‍याउने तथा विदेशस्थित नेपाली कांग्रेसका संगठनलाई थप प्रभावकारी र सुदृढ बनाउने विषयलाई आफ्नो उम्मेदवारीको प्राथमिकतामा राखेका छन्।

उनले प्रवासी नेपालीको हकहित, मताधिकार, सम्मान तथा राजनीतिक सहभागिताका विषयलाई पार्टीको नीति तथा निर्णय निर्माणको तहसम्म पुर्‍याउन आफूले सक्रिय भूमिका निर्वाह गर्ने बताएका छन्।

थापाको प्रचार अभियानमा ‘प्रवासी नेपालीको आवाज, अब केन्द्रमा मेरो साथ’, ‘प्रवासीको मुद्दा केन्द्रमा, मेरो उम्मेदवारी प्रतिबद्धतामा’ तथा ‘प्रवासी नेपालीको हकहितका लागि, केन्द्रमा बलियो प्रतिनिधित्व’ लगायतका नाराहरू अघि सारिएका छन्।

प्रचार सामग्रीमार्फत थापाले प्रवासदेखि केन्द्रसम्म नेपालीको आवाजलाई जोड्ने र प्रवासी नेपालीका मुद्दालाई पार्टीको मूलधारमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, ‘मताधिकारदेखि सम्मानसम्म, प्रवासीका मुद्दामा मेरो प्रतिबद्धता’ भन्ने नारामार्फत प्रवासी नेपालीका अधिकारका विषयमा आफ्नो प्राथमिकता स्पष्ट पारेका छन्।

थापाको उम्मेदवारीसँगै नेपाली जनसम्पर्क समिति, मलेसियासँग आबद्ध नेता–कार्यकर्ता तथा समर्थकहरूले महाधिवेशन प्रतिनिधिहरूसँग समर्थन र सहयोगका लागि आग्रह गरेका छन्।

समर्थकहरूले थापाको उम्मेदवारीले विदेशमा रहेका नेपाली कांग्रेसका नेता–कार्यकर्ता तथा जनसम्पर्क समितिको प्रतिनिधित्वलाई पार्टीको केन्द्रीय तहमा थप सशक्त बनाउने अपेक्षा व्यक्त गरेका छन्।

एसिया क्षेत्रबाट केन्द्रीय सदस्य पदका उम्मेदवार थापाले प्रवासी नेपालीका मुद्दालाई नेपाली कांग्रेसको नीति, निर्णय र नेतृत्व तहसँग जोड्ने आफ्नो अभियान रहेको बताएका छन्। उनले विदेशमा रहेका नेपाली कांग्रेसका संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन तथा प्रवासी नेपालीको हकहितका विषयमा पार्टीभित्र निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

तपाईको प्रतिक्रिया