अर्धजलाशययुक्त दुई जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय
काठमाडौं । सरकारले १०५.६२ मेगावाट क्षमताका दुई अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार बसेको लगानी बोर्डको बैठकले नार खोला र सानी भेरी–३ जलविद्युत् आयोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको हो।
बैठकको निर्णयअनुसार ५८.९ मेगावाट क्षमताको नार खोला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाका लागि १० अर्ब ७५ करोड ४ लाख ९७ हजार रुपैयाँ र ४६.७२ मेगावाट क्षमताको सानी भेरी–३ आयोजनाका लागि १० अर्ब ४२ करोड ३३ लाख ६२ हजार रुपैयाँ लगानी स्वीकृत गरिएको छ।
यसैगरी, बैठकले ९०० मेगावाट क्षमताको अरुण–३ जलविद्युत् आयोजनाले सन् २०२८ फेब्रुअरीसम्म व्यावसायिक विद्युत् उत्पादन सुरु गर्ने विषयलाई अघि बढाएको छ।
त्यस्तै, ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको हकमा परियोजना विकास सम्झौतामा उल्लेखित प्रावधानअनुसार निर्माण कार्य तत्काल अघि बढाउन आवश्यक सहजीकरण गर्ने निर्णय पनि बैठकले गरेको छ।
तपाईको प्रतिक्रिया