कांग्रेस सभापतिमा गगन थापालाई निर्विरोध गराउने प्रयास, खड्गीसँग संवाद जारी
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका उम्मेदवार गगनकुमार थापालाई निर्विरोध निर्वाचित गराउने प्रयास भइरहेको छ।
सभापति पदमा उम्मेदवारी दिएका किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिएपछि अब श्यामकृष्ण खड्गीलाई पनि उम्मेदवारी फिर्ता गराउन थापा पक्षले संवाद अघि बढाएको कांग्रेसनिकट स्रोतले जनाएको छ।
१५औँ महाधिवेशनअन्तर्गत सभापति पदमा गगनकुमार थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरले उम्मेदवारी दर्ता गरेका थिए। निर्वाचन समितिका अनुसार सभापति पदमा तीन जनाको उम्मेदवारी परेको थियो।
राठौरले बुधबार आफ्नो उम्मेदवारी फिर्ता लिएपछि सभापति पदमा थापा र खड्गी मात्रै प्रतिस्पर्धामा रहेका छन्। अब खड्गीसँग समेत छलफल गरी उम्मेदवारी फिर्ता गराउने र थापालाई निर्विरोध सभापति बनाउने प्रयास भइरहेको बताइएको छ।
यसअघि कांग्रेसको १५औँ महाधिवेशनबाट वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसकेका छन्। दुवै पदमा एकल उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन्।
कांग्रेसले १५औँ महाधिवेशनबाट वरिष्ठ उपसभापतिको नयाँ पद सिर्जना गरेको हो। उक्त पदमा शर्माको मात्रै उम्मेदवारी परेको थियो।
सभापति पदमा भने सुरुमा तीन जनाको उम्मेदवारी परेपछि निर्वाचन हुने अवस्था बनेको थियो। राठौरले उम्मेदवारी फिर्ता लिएसँगै अब थापा र खड्गीबीच मात्रै प्रतिस्पर्धा कायम छ।
थापा पक्षले खड्गीसँग सहमति जुटाएर उम्मेदवारी फिर्ता गराउने प्रयास गरिरहेको बताइएको छ। खड्गीले उम्मेदवारी फिर्ता लिएमा सभापति पदमा थापा निर्विरोध निर्वाचित हुनेछन्।
तपाईको प्रतिक्रिया