तरलता प्रशोचन गर्न १५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
काठमाडौं । बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ छ’ जारी गर्ने भएको छ। एक वर्ष अवधिको उक्त ऋणपत्र सोमबार (असार २९) मौद्रिक व्यवस्थापन विभागमार्फत बोलकबोल प्रक्रियाबाट निष्कासन गर्न लागिएको हो।
राष्ट्र बैंकका अनुसार ऋणपत्रको बोलकबोल आज अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत हुनेछ। जारी हुने ऋणपत्रको अवधि एक वर्ष रहनेछ भने यसको साँवा २०८४ असार २९ गते भुक्तानी गरिनेछ। ब्याजदर भने बोलकबोलबाट तय हुनेछ र ब्याज प्रत्येक ६ महिनामा अर्धवार्षिक रूपमा भुक्तानी गरिने व्यवस्था छ।
बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरू (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउनेछन्। आवेदन न्यूनतम ५ करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकमसम्म ५ करोड रुपैयाँका गुणकमा दिन सकिनेछ।
राष्ट्र बैंकले बोलकबोल बहु–ब्याजदरमा गर्न सकिने भए पनि बाँडफाँटका क्रममा एउटै ब्याजदर कायम गरिने जनाएको छ। कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिइनेछ भने माग आह्वान गरिएको रकमभन्दा बढी भएमा समानुपातिक आधारमा ऋणपत्र बाँडफाँट गरिनेछ।
जारी हुने ऋणपत्रलाई बैंक तथा वित्तीय संस्थाले अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सक्नेछन्। यद्यपि, यसमा गरिएको लगानीलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न नपाइने भए पनि वैधानिक तरलता (एसएलआर) र खुद तरल सम्पत्ति अनुपातमा भने समावेश गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै, बोलकबोलमा सहभागी संस्थाको खातामा आवश्यक रकम नभएका कारण आवेदन रद्द भएमा सम्बन्धित संस्थालाई २.५० प्रतिशत हर्जनासहित आगामी ६ महिनासम्म राष्ट्र बैंकका अन्य बोलकबोल प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था गरिएको सूचनामा उल्लेख छ।
तपाईको प्रतिक्रिया