ट्रम्पको फोनपछि बालगनको प्रतिबन्ध हट्दा फिफा विवादमा, ७२ युरोपेली सांसदद्वारा छानबिनको माग
काठमाडौं। फिफा विश्वकप फुटबल २०२६ का क्रममा अमेरिकी स्ट्राइकर फोलारिन बालगनमाथि लागेको एक खेलको प्रतिबन्ध हटाइएपछि फिफामाथि राजनीतिक प्रभाव परेको आरोप लागेको छ। यस घटनापछि ७२ जना युरोपेली सांसदहरूले फिफा र अध्यक्ष जियानी इन्फान्टिनोको भूमिकामाथि छानबिन गर्न माग गरेका छन्।
विश्वकपअन्तर्गत अमेरिका र बोस्निया–हर्जगोभिनाबीच भएको खेलमा बालगनले रातो कार्ड पाएपछि उनी नियमअनुसार बेल्जियमविरुद्धको अर्को खेलमा निलम्बित हुनुपर्ने थियो। तर, फिफाको अनुशासन समितिले उनको प्रतिबन्ध रोक्का गरेपछि उनले बेल्जियमविरुद्धको खेल खेल्न पाए। उक्त खेलमा अमेरिका ४–१ गोलअन्तरले पराजित भएको थियो।
विवाद थप चर्किएको कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई फोन गरेर बालगनमाथिको रातो कार्डलाई ‘ठूलो अन्याय’ भन्दै पुनरावलोकन गर्न आग्रह गरेको सार्वजनिक रूपमा बताएका थिए। ट्रम्प र इन्फान्टिनोबीच लामो समयदेखि निकट सम्बन्ध रहेको चर्चा हुँदै आएको छ।
यस विषयमा इन्फान्टिनोले भने फिफाका न्यायिक निकाय स्वतन्त्र रहेको दाबी गरेका छन्। उनले राष्ट्रपति ट्रम्पलाई पनि यो कानुनी प्रक्रिया भएकाले निर्णय सम्बन्धित स्वतन्त्र निकायले नै गर्ने जानकारी दिएको बताएका छन्।
युरोपेली संसदका ७२ सदस्यहरूले युरोपका २७ वटा राष्ट्रिय फुटबल संघलाई पत्र लेख्दै प्रतिबन्ध हटाउने निर्णय प्रक्रिया निष्पक्ष थियो वा थिएन भन्ने विषयमा छानबिन गर्न आग्रह गरेका छन्। उनीहरूको भनाइमा फिफाको आफ्नै नियमावली र आचारसंहिताले फुटबलमा राजनीतिक हस्तक्षेपलाई स्पष्ट रूपमा निषेध गरेको छ।
यसअघि पनि इन्फान्टिनोले राष्ट्रपति ट्रम्पलाई ‘फिफा शान्ति पुरस्कार’ प्रदान गरेपछि ५० जना युरोपेली सांसदहरूले फिफाको नैतिकता र निष्पक्षतामाथि प्रश्न उठाएका थिए।
युरोपेली फुटबल महासंघ (युइएफए) ले समेत फिफाको पछिल्लो निर्णयप्रति असन्तुष्टि जनाउँदै यसलाई ‘बुझिनसक्नु’ र फुटबल प्रशासनको सीमारेखा पार गर्ने कदमको संज्ञा दिएको छ।
युइएफएकी उपाध्यक्ष लाउरा म्याकलिस्टरले चेतावनी दिँदै भनिन्, “यदि कुनै पनि राजनीतिक नेताले फोन गरेर मैदानमा दिइएको सजाय परिवर्तन गराउन सक्ने अवस्था बन्यो भने, त्यो विश्व फुटबलका लागि अत्यन्त खतरनाक नजिर हुनेछ।
तपाईको प्रतिक्रिया