बिहीबार ३२ असार २०८३
खेलकुद

स्पेन विश्वकपको फाइनलमा, फ्रान्स २–० ले पराजित

बुधबार असार ३१, २०८३/ Wednesday 07-15-26

काठमाडौं । स्पेनले फिफा विश्वकपको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको छ।

अमेरिकाको डलासमा सम्पन्न खेलमा सुरुदेखि नै आक्रामक र संगठित प्रदर्शन गरेको स्पेनले उपाधिका प्रमुख दाबेदार मानिएको फ्रान्सलाई अधिकांश समय दबाबमा राख्दै प्रभावशाली जित निकाल्यो। बल नियन्त्रण, सटीक पासिङ र निरन्तर आक्रमणमा स्पेन स्पष्ट रूपमा हाबी देखियो।

स्पेनका लागि पहिलो गोल मिकेल ओयारजाबालले पेनाल्टीमार्फत गरेका थिए। त्यसपछि खेलको ५८औँ मिनेटमा डानी ओल्मोसँग उत्कृष्ट ‘वान–टु’ पास खेलेका पेड्रो पोरोले आकर्षक फिनिस गर्दै टोलीको अग्रता दोब्बर बनाए।

स्पेनको जितमा डानी ओल्मोको प्रदर्शन विशेष रह्यो। उनले खेलभर ३० पासमध्ये केवल एक पास मात्र गलत गर्दै ९६.७ प्रतिशत पास सफलताको दर कायम गरे। साथै उनले दुईवटा गोल गर्ने अवसर सिर्जना गर्नुका साथै पोरोको गोलका लागि निर्णायक असिस्ट पनि प्रदान गरे।

यस जितसँगै सन् २०१० को विश्वविजेता तथा वर्तमान युरोपियन च्याम्पियन स्पेन दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको छ।

अब स्पेनले आइतबार हुने फाइनलमा इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

उता फ्रान्सका लागि भने सेमिफाइनल यात्रा नै अन्तिम बन्यो। प्रशिक्षक डिडिएर डेसाँको नेतृत्वमा तेस्रो विश्वकप उपाधि जित्ने लक्ष्य राखेको फ्रान्स उपाधि दौडबाट बाहिरिएको छ। अब फ्रान्सले शनिबार हुने तेस्रो स्थानको खेल खेल्नेछ।

 

तपाईको प्रतिक्रिया