गृहमन्त्रीलाई शाहीको प्रश्न– ‘पानी बाँड्न गएको व्यक्ति कसरी सत्तामा पुग्यो?’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्री सुधन गुरुङलाई लक्षित गर्दै जेनजी आन्दोलनलाई राजनीतिकरण गरेर राज्यसत्तामा पुगेको आरोप लगाएका छन्।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै शाहीले मुगुका गणेश नेपालीको आत्मदाहपछि भएको मृत्यु घटनाबारे प्रश्न उठाउँदा आफूहरूले राजनीतिकरण नगरेको दाबी गरे। उनले नागरिकको उद्धारको माग गर्नु राजनीतिकरण नभएको भन्दै सरकारको भूमिकामाथि प्रश्न उठाए।
यसअघि गृहमन्त्री गुरुङले संसदमा बोल्ने क्रममा गणेश नेपालीको आत्मदाह घटनालाई विपक्षी दलहरूले राजनीतिकरण गर्न खोजेको आरोप लगाएका थिए। त्यसको जवाफ दिँदै शाहीले भने, “भिरमा अड्किएका नागरिकलाई उद्धार गर भन्नु राजनीतिकरण होइन, तर आन्दोलनमा पानी बाँड्न आएको भन्दै विद्यार्थीलाई ढाल बनाएर राज्यसत्तामा पुग्नु राजनीतिकरण हो।”
उनले जेनजी आन्दोलनका क्रममा आफू पानी बाँड्न आएको बताउनेहरू पछि सत्तामा पुगेको भन्दै आलोचना गरे। साथै संसद आवश्यक छैन भन्दै विरोध गर्नेहरू नै पछि त्यही संसदको चुनाव लड्न आउनुलाई पनि उनले राजनीतिकरणको संज्ञा दिए।
शाहीले पदमा पुग्नुअघि र पछि नेताहरूको व्यवहार परिवर्तन हुने गरेको आरोप लगाए। “आफू पदमा नहुँदा सुविधा हटाउनुपर्छ भन्ने र पदमा पुगेपछि सुरक्षाकर्मीको घेरामा हिँड्ने प्रवृत्ति राजनीतिकरण हो,” उनले भने।
उनले सरकारमाथि प्रतिपक्षी दलका नेता तथा सञ्चारगृह अगाडि पार्किङ गराउने र त्यसलाई सर्वसाधारणको गतिविधिका रूपमा प्रस्तुत गर्ने आरोपसमेत लगाए।
कर्णालीका विकट क्षेत्रमा उद्धार माग गर्दा राज्यले कठोर व्यवहार देखाएको आरोप लगाउँदै शाहीले संसदमा आएर भावुक बन्ने प्रवृत्तिको पनि आलोचना गरे।
उनले कानुन सबैका लागि समान हुनुपर्ने भन्दै ट्राफिक नियम उल्लंघनमा सर्वसाधारणलाई कारबाही हुने भए प्रधानमन्त्री र गृहमन्त्रीले पनि नियम उल्लंघन गरे कारबाही हुनुपर्ने बताए।
तपाईको प्रतिक्रिया