१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा, बेल्जियम २–१ ले पराजित
काठमाडौं । स्पेनले फिफा विश्वकपमा १६ वर्षपछि सेमिफाइनल यात्रा तय गरेको छ। अमेरिकाको लस एन्जलसमा सम्पन्न क्वार्टरफाइनलमा बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगेको हो।
निक्कै प्रतिस्पर्धात्मक बनेको खेलको निर्णय निर्धारित समयको अन्तिम चरणमा भयो। खेलको ८८औँ मिनेटमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई ऐतिहासिक जित दिलाए। पाउ क्युबार्सीको प्रहार बेल्जियमका गोलरक्षकले पूर्ण रूपमा नियन्त्रणमा लिन नसकेपछि रिबाउन्ड बलमा मेरिनोले कुनै गल्ती नगरी जाली चुमाएका थिए।
स्पेनले खेलको ३०औँ मिनेटमै अग्रता बनाएको थियो। फेबियन रुइजले उत्कृष्ट फिनिसिङ गर्दै टोलीलाई १–० को अग्रता दिलाए। तर बेल्जियमले ४१औँ मिनेटमा चार्ल्स डे केटलेरको शक्तिशाली हेडरमार्फत खेल १–१ को बराबरीमा ल्याएको थियो। पहिलो हाफ बराबरीमा सकिएपछि दोस्रो हाफमा दुवै टोलीले अवसर सिर्जना गरे पनि अन्तिम समयमा मेरिनोको गोल नै निर्णायक बन्यो।
समग्र खेलमा स्पेनले स्पष्ट रूपमा दबाब कायम राख्यो। बल पोजिसनको अधिकांश समय आफ्नो नियन्त्रणमा राखेको स्पेनले १६ पटक गोलतर्फ प्रहार गर्दा बेल्जियमले केवल पाँच प्रहार मात्र गर्न सक्यो। आक्रामक खेलशैली र निरन्तर दबाबकै कारण स्पेन अन्ततः विजयी बन्न सफल भयो।
सन् २०१० मा विश्वकपको उपाधि जितेपछि स्पेनको विश्वकप यात्रा अपेक्षाअनुसार हुन सकेको थिएन। सन् २०१४ मा समूह चरणबाटै बाहिरिएको स्पेन २०१८ र २०२२ का दुवै विश्वकपमा अन्तिम–१६ बाटै घर फर्किएको थियो। यसपटक भने नयाँ पुस्ताका खेलाडीहरूको उत्कृष्ट प्रदर्शनका साथ स्पेन फेरि विश्व फुटबलको शीर्ष चारमा पुग्न सफल भएको छ।
१७औँ पटक विश्वकप खेलिरहेको स्पेनका लागि यो इतिहासकै तेस्रो सेमिफाइनल यात्रा हो। यसअघि स्पेन सन् १९५० र २०१० मा सेमिफाइनल पुगेको थियो। २०१० मा विश्वच्याम्पियन बनेको स्पेन १९५० मा चौथो स्थानमा सीमित भएको थियो।
यता, बेल्जियमको विश्वकप यात्रा भने क्वार्टरफाइनलमै टुंगिएको छ। बेल्जियम २०१४ मा पनि क्वार्टरफाइनलसम्म पुगेको थियो भने २०१८ को विश्वकपमा तेस्रो स्थान हासिल गरेको थियो। २०२२ मा भने टोली समूह चरणबाटै बाहिरिएको थियो।
अब स्पेनले फाइनल प्रवेशका लागि सेमिफाइनलमा साविक उपविजेता फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। यो खेल विश्व फुटबलका दुई शक्तिशाली युरोपेली टोलीबीचको बहुप्रतीक्षित भिडन्तका रूपमा हेरिएको छ।
तपाईको प्रतिक्रिया