हर्मुज कार्गो शुल्कबाट पछि हटे ट्रम्प, खाडीसँग सम्झौतामा जोड
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्ग हुँदै ढुवानी हुने सबै कार्गोमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव फिर्ता लिएका छन्।
यो निर्णय अमेरिकाले इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी पुनः सुरु गर्ने तयारी गरिरहेकै बेला सार्वजनिक भएको हो। शुल्क लगाउने योजनालाई अघि नबढाई ट्रम्पले खाडी राष्ट्रहरूसँग व्यापार तथा लगानीसम्बन्धी ठूला सम्झौतामार्फत आर्थिक सहकार्य विस्तार गर्ने विकल्प रोजेको बीबीसीले जनाएको छ।
अमेरिका र इरानबीच पुनः चर्किएको सैन्य तनाव तथा हवाई आक्रमणका घटनाबीच आएको यस निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ। बढ्दो तनावका कारण हर्मुज जलमार्ग हुँदै हुने तेल ट्याङ्करहरूको आवतजावत प्रभावित भएको छ भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसमेत उकालो लागेको छ।
राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत २० प्रतिशत शुल्क लगाउने योजना खाडी मुलुकहरूसँग हुने व्यापार र लगानी सम्झौताबाट प्रतिस्थापन गर्ने निर्णय गरिएको बताएका छन्।
उनले हर्मुज जलमार्ग इरानबाहेक अन्य सबै मुलुकका जहाजका लागि खुला रहेको दाबी गर्दै अमेरिकी सेनाको उपस्थितिका कारण विश्व बजारमा तेल आपूर्तिमा कुनै अवरोध नआउने विश्वास व्यक्त गरेका छन्।
तपाईको प्रतिक्रिया