बिहीबार ३२ असार २०८३
बिजनेस

रसुवागढी नाकाबाट ६ हजार ५०० बढी विद्युतीय सवारी आयात, १५ अर्बभन्दा बढी राजश्व सङ्कलन

बिहीबार असार ३२, २०८३/ Thursday 07-16-26

काठमाडौं। उत्तरी छिमेकी चीनसँग जोडिएको रसुवागढी (टिमुरे) भन्सार नाकाबाट आर्थिक वर्ष २०८२/८३ मा विद्युतीय सवारी (ईभी) आयात उल्लेखनीय रूपमा बढेको छ। ईभीप्रति नेपाली उपभोक्ताको बढ्दो आकर्षणसँगै आयात र राजश्व दुवैमा नयाँ कीर्तिमान कायम भएको रसुवा भन्सार कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट ६ हजार ५०० भन्दा बढी विद्युतीय कार, जीप, भ्यान तथा मिनीबस नेपाल भित्रिएका छन्। यी सवारी चीनका विभिन्न सहरबाट केरुङ हुँदै नेपाल ल्याइएका हुन्।

विद्युतीय सवारीको आयातबाट मात्रै १५ अर्ब रुपैयाँभन्दा बढी भन्सार राजश्व सङ्कलन भएको छ, जुन कुल राजश्वको ६० प्रतिशतभन्दा बढी हिस्सा हो। सरकारले कर संरचनामा केही संशोधन गरे पनि चिनियाँ ईभी ब्रान्डप्रतिको उच्च मागका कारण आयातमा कुनै उल्लेख्य कमी नआएको भन्सारको भनाइ छ।

कम सञ्चालन खर्च, वातावरणमैत्री प्रविधि र आधुनिक सुविधाका कारण उपभोक्ताहरू ईभीतर्फ आकर्षित भइरहेका छन्। यही कारण रसुवागढी नाका चीनबाट विद्युतीय सवारी आयात गर्ने प्रमुख प्रवेशद्वारका रूपमा स्थापित हुँदै गएको छ।

यद्यपि, यही आर्थिक वर्षमा करिब २०० विद्युतीय सवारीको नियमविपरीत पूर्व–जाँचपास गराउन खोजिएको प्रकरण पनि सार्वजनिक भएको थियो। घटनापछि तत्कालीन प्रमुख भन्सार अधिकृतसहित १३ कर्मचारी निलम्बनमा परेका थिए भने नयाँ नेतृत्वले जाँचपास प्रणालीलाई थप पारदर्शी र व्यवस्थित बनाएको जनाएको छ।

यसैबीच, टिमुरेमा निर्माणाधीन एकीकृत जाँचचौकी (आईसीपी) र सुख्खा बन्दरगाह अन्तिम चरणमा पुगेकाले आगामी आर्थिक वर्षदेखि भन्सार प्रक्रिया, सवारी व्यवस्थापन र व्यापारिक गतिविधि अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया