काठमाडौं । वाणिज्य बैंकहरूले साउन महिनाका लागि निक्षेपमा प्रदान गर्ने ब्याजदर पुनः घटाएका छन्। बैंकिङ प्रणालीमा निक्षेप तीव्र गतिमा बढिरहँदा कर्जाको माग अपेक्षित रूपमा विस्तार हुन नसकेपछि लागत व्यवस्थापन गर्न बैंकहरूले ब्याजदर कटौतीलाई निरन्तरता दिएका हुन्।
चालु आर्थिक वर्षमा बैंकहरूको निक्षेप करिब १० खर्ब रुपैयाँले वृद्धि भएको भए पनि कर्जा विस्तार भने करिब ४ खर्ब रुपैयाँमा सीमित रह्यो। निक्षेप र कर्जाबीचको यही असन्तुलनका कारण बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएको छ। परिणामस्वरूप बैंकहरूले निक्षेपको लागत घटाउन मुद्दती निक्षेपको ब्याजदर क्रमशः कम गर्दै आएका छन्।
साउनका लागि प्रकाशित नयाँ ब्याजदरअनुसार पहिले नै तुलनात्मक रूपमा कम ब्याजदर प्रस्ताव गर्दै आएका बैंकहरूले पुरानै दर कायम राखेका छन्। तर राष्ट्रिय वाणिज्य बैंक, एनएमबि बैंक, ग्लोबल आईएमई बैंक, कुमारी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र सिटिजन्स बैंकले भने ब्याजदर थप घटाएका छन्। कुनै पनि बैंकले भने ब्याजदर वृद्धि गरेका छैनन्।
नेपाल राष्ट्र बैंकले बचत निक्षेपमा न्यूनतम ब्याजदर २.७५ प्रतिशतभन्दा तल झार्न नपाइने व्यवस्था गरेको छ। यो दर राष्ट्र बैंकको निक्षेप संकलन दरसँग जोडिएको छ। बचतको ब्याजदर घटाउन नपाउने बाध्यताका कारण बैंकहरूले लागत घटाउने उपायस्वरूप मुद्दती निक्षेपको ब्याजदरमा कटौती गरेका हुन्।
साउन महिनाका लागि २० वाणिज्य बैंकमध्ये १४ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर यथावत् राखेका छन् भने ६ बैंकले घटाएका छन्। राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा ठूलो कटौती गर्दै असारको ४.७५ प्रतिशतबाट घटाएर ४ प्रतिशतमा झारेको छ। एनएमबि बैंकले ४.७५ प्रतिशतबाट ४.५० प्रतिशतमा, ग्लोबल आईएमई बैंकले ४.५० प्रतिशतबाट ४ प्रतिशतमा, कुमारी बैंकले ३.९१ प्रतिशतबाट ३.८५ प्रतिशतमा तथा स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.९५ प्रतिशतबाट ३.८५ प्रतिशतमा झारेका छन्। सिटिजन्स बैंकले पनि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ३.९५ प्रतिशत कायम गरेको छ।
यता हिमालयन, प्राइम, एनआईसी एशिया र लक्ष्मी सनराइज बैंकले ४ प्रतिशतको ब्याजदरलाई यथावत् राखेका छन्। एभरेष्ट र सिद्धार्थ बैंकले ४.०५ प्रतिशत, नेपाल एसबिआई बैंकले ४.१० प्रतिशत, कृषि विकास बैंकले ४.१५ प्रतिशत तथा नेपाल बैंकले ४.२५ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएका छन्। नेपाल इन्भेष्टमेन्ट मेगा, सानिमा र माछापुच्छ्रे बैंकले ४.५० प्रतिशत तथा प्रभु र नबिल बैंकले ४.५५ प्रतिशत ब्याजदर यथावत् राखेका छन्।
बैंकहरूले प्रत्येक महिनाको अन्तिम दिन आगामी महिनाका लागि निक्षेपको ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। साउनका लागि सार्वजनिक गरिएको दरअनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर असारको ४.२६ प्रतिशतबाट घटेर ४.१७ प्रतिशतमा पुगेको छ, अर्थात् औसतमा ०.०९ प्रतिशत बिन्दुले कमी आएको छ।
बैंकिङ प्रणालीमा निक्षेप निरन्तर बढिरहँदा त्यसअनुसार कर्जा प्रवाह हुन नसकेकाले राष्ट्र बैंकले पनि तरलता व्यवस्थापनका लागि नियमित रूपमा रकम खिचिरहेको छ। हाल बैंकहरूले १३ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी रकम राष्ट्र बैंकमा पार्क गरेका छन्।
तपाईको प्रतिक्रिया