काठमाडौं । देशभर मनसुन सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ औसतभन्दा केही माथि तथा पूर्वतर्फ औसत स्थानकै आसपास रहेकाले देशका विभिन्न भागमा वर्षा हुने अवस्था बनेको हो।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो पहाडी भूभागका धेरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान, साथै कोशी र मधेसका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। हिमाली क्षेत्रका केही स्थानमा वर्षासँगै हिमपात हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली तथा पहाडी भूभाग, साथै लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
रातिको समयमा पनि देशभर बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराईका केही स्थान, कोशी, मधेस र कर्णालीका विभिन्न क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपात हुने अनुमान गरिएको छ।
भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। साथै सडक तथा हवाई यातायात, कृषि, स्वास्थ्य सेवा, पर्यटन र पर्वतारोहण गतिविधिमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।
तपाईको प्रतिक्रिया