शनिबार २ श्रावण २०८३
बिजनेस

एक महिनापछि खुल्यो जावालाखेल चिडियाखाना

शुक्रबार श्रावण १, २०८३/ Friday 07-17-26

काठमाडौं। बर्डफ्लु संक्रमणका कारण करिब एक महिनादेखि बन्द रहेको ललितपुरको जावालाखेलस्थित सदर चिडियाखाना शुक्रबारदेखि पुनः सर्वसाधारणका लागि खुला गरिएको छ।

गत असार ५ गतेदेखि संक्रमणको जोखिमका कारण बन्द गरिएको चिडियाखाना बर्डफ्लु नियन्त्रणमा आएपछि पुनः सञ्चालनमा ल्याइएको हो। चिडियाखानाभित्र काग मृत अवस्थामा फेला परेपछि गरिएको परीक्षणमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि प्रवेश बन्द गरिएको थियो।

संक्रमणका कारण चिडियाखानामा ४१ वटा पशुपंक्षी मरेका थिए। आवश्यक नियन्त्रण तथा निगरानीपछि अवस्था सामान्य बन्दै गएपछि अवलोकनका लागि पुनः खुला गरिएको प्रशासनले जनाएको छ।

चिडियाखाना प्रशासनले अवलोकनका क्रममा पशुपंक्षीलाई खानेकुरा नखुवाउन, सुरक्षित दूरी कायम गर्न, लामो समयसम्म पशुपंक्षीको अत्यधिक नजिक नबस्न तथा मास्कको प्रयोग गर्न सबै आगन्तुकलाई अनुरोध गरेको छ।

 

तपाईको प्रतिक्रिया