अमेरिकी मतदाताको डाटा चीनले ह्याक गरेको ट्रम्पको आरोप
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकी निर्वाचनसम्बन्धी डाटामा ठूलो साइबर घुसपैठ गरेको दाबी गर्दै अमेरिकी निर्वाचन प्रणाली लामो समयदेखि साइबर जोखिममा रहेको बताएका छन्।
ट्रम्पले अमेरिकी निर्वाचन पूर्वाधारको सुरक्षाबारे वर्षौंदेखि नागरिकलाई भ्रममा राखिएको आरोप लगाउँदै इलेक्ट्रोनिक मतदान मेसिन र मतगणना प्रणाली पूर्ण रूपमा सुरक्षित नरहेको दाबी गरे।
उनले हालै सार्वजनिक गरिएका अमेरिकी गुप्तचर समुदाय (यूएस इन्टेलिजेन्स कम्युनिटी) का केही मूल्याङ्कन प्रतिवेदन र अन्य कागजातले निर्वाचन प्रणाली साइबर आक्रमणका लागि संवेदनशील रहेको देखाएको उल्लेख गरे। ट्रम्पका अनुसार ती प्रतिवेदनमा रूस, चीन, इरान, उत्तर कोरिया तथा केही गैर–राज्य समूहसँग अमेरिकी निर्वाचन पूर्वाधारमा हस्तक्षेप गर्न सक्ने क्षमता रहेको निष्कर्ष निकालिएको छ।
यसैबीच, ह्वाइट हाउसले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको वक्तव्यमा सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनयता चीनले अमेरिकी निर्वाचनसम्बन्धी डाटामा अहिलेसम्मकै ठूलो साइबर घुसपैठ गरेको दाबी गरेको छ। वक्तव्यअनुसार उक्त साइबर आक्रमणमार्फत करिब २२ करोड अमेरिकी मतदाताको व्यक्तिगत विवरणमा पहुँच प्राप्त गरिएको आरोप लगाइएको छ।
यद्यपि चीनले यी आरोपबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन। साथै, अमेरिकी प्रशासनका दाबीहरूको स्वतन्त्र रूपमा पुष्टि पनि हालसम्म हुन सकेको छैन।
तपाईको प्रतिक्रिया