शनिबार २ श्रावण २०८३
राजनीति

सांसदका स्वकीय सचिवको तलबभत्ता बढाउन सकारात्मक छौँ : मन्त्री वाग्ले

शुक्रबार श्रावण १, २०८३/ Friday 07-17-26

काठमाडौं।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदका स्वकीय सचिवहरूको तलब, सुविधा तथा फिल्ड भ्रमण भत्तालाई समयसापेक्ष बनाउने विषयमा सरकार सकारात्मक रहेको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले स्वकीय सचिवहरूको पारिश्रमिक वृद्धि र सुविधाका विषयमा सरकारले उदार दृष्टिकोण अपनाएको उल्लेख गरे। आवश्यक कानुनी प्रक्रिया पूरा गरेर फिल्ड भ्रमणका क्रममा दिइने भत्तालगायतका सुविधालाई पनि वर्तमान आवश्यकता अनुसार परिमार्जन गर्न सरकार तयार रहेको उनको भनाइ थियो।

वाग्लेले सांसदहरूको कार्यसम्पादन प्रभावकारी बनाउन सहयोगी कर्मचारीको सेवा–सुविधा सुधार आवश्यक रहेको संकेत गर्दै त्यसतर्फ सरकारले आवश्यक निर्णय गर्ने बताए।

बैठकमा उनले नेपाल राष्ट्र बैंक ऐनमा प्रस्तावित संशोधनका विषयमा पनि खुला, स्वस्थ र विधिसम्मत छलफलमार्फत निष्कर्षमा पुग्न सरकार प्रतिबद्ध रहेको बताए। राष्ट्र बैंकको सञ्चालक समितिमा रहने सदस्य सङ्ख्याबारे पनि आवश्यक छलफल गरेर सहमतिमा पुग्न सकिने उनको भनाइ थियो।

अर्थमन्त्री वाग्लेले सरकारले आर्थिक सुधार र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर आवश्यक कानुनी तथा नीतिगत सुधारलाई अघि बढाइरहेको समेत बताए।

 

तपाईको प्रतिक्रिया