बुधबार ६ श्रावण २०८३
खेलकुद

विश्वकप लिग टु : नेपाल र नामिबिया भिड्दै

मंगलबार श्रावण ५, २०८३/ Tuesday 07-21-26

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिदेशीय सिरिजमा नेपालले आज आफ्नो पहिलो खेल नामिबियाविरुद्ध खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।

आयोजक नेदरल्यान्ड्स, नेपाल र नामिबिया सहभागी सिरिज नेपालका लागि विश्वकप ग्लोबल क्वालिफायरको सम्भावना कायम राख्न निकै महत्त्वपूर्ण मानिएको छ। २८ खेलबाट २४ अंक जोडेको नेपाल हाल पाँचौँ स्थानमा छ। शीर्ष चारभित्र रहन अबका अधिकांश खेलमा जित निकाल्नुपर्ने दबाब नेपाली टोलीमाथि छ।

घरेलु मैदान कीर्तिपुरमा गत जेठमा भएको लिग–२ सिरिजमा नेपालले आठमध्ये ६ खेल जित्दै सातौँ स्थानबाट पाँचौँ स्थानमा उक्लिएको थियो। त्यही लयलाई नेदरल्यान्ड्समा पनि निरन्तरता दिने लक्ष्यसहित कप्तान रोहितकुमार पौडेल नेतृत्वको टोली मैदान उत्रिँदैछ।

नेपालले यस सिरिजमा साउन ७ गते नेदरल्यान्ड्स, साउन ११ गते पुनः नामिबिया र साउन १३ गते फेरि नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।

अंक तालिकामा अमेरिकाको ४३ अंकसहित शीर्षस्थानमा छ भने स्कटल्यान्ड ३८ अंकसहित दोस्रो र नेदरल्यान्ड्स ३२ अंकसहित तेस्रो स्थानमा छन्। ओमान ३१ अंकसहित चौथो स्थानमा रहँदा नेपाल २४ अंकसहित पाँचौँ स्थानमा छ। नामिबिया २२ अंकका साथ सातौँ स्थानमा रहेको छ।

नेपालको १५ सदस्यीय टोलीमा कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, सोमपाल कामी, करण केसी, गुल्सन झा, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल, इशान पाण्डे, नन्दन यादव र विनोद भण्डारी रहेका छन्।

विश्वकप लिग–२ को यस चक्रमा नेपालले अझै आठ खेल खेल्न बाँकी छन्। शीर्ष चारभित्र रहेर विश्वकप ग्लोबल क्वालिफायरमा स्वतः छनोट हुने लक्ष्य पूरा गर्न नेपाललाई अबका खेलहरूमा उत्कृष्ट प्रदर्शन अपरिहार्य छ।

 

तपाईको प्रतिक्रिया