मंगलबार ५ श्रावण २०८३
राजनीति

जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता

मंगलबार श्रावण ५, २०८३/ Tuesday 07-21-26

काठमाडौं ।जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा श्रम संस्कृति पार्टीका कार्यकर्ता र विभिन्न हिन्दुवादी सङ्घसंस्थासँग आबद्ध युवाबीच विवाद हुँदा केही समय तनावको अवस्था सिर्जना भएको छ।

पार्टी अध्यक्ष हर्क साम्पाङलाई स्वागत गर्न मन्दिर परिसरमा पुगेका श्रम संस्कृति पार्टीका कार्यकर्तालाई हिन्दु सम्राट सेनासहितका युवाहरूले विरोध गर्दै त्यहाँबाट हटाएका थिए। हिन्दु सम्राट सेनाले साम्पाङमाथि ‘क्रिश्चियन धर्मको प्रचार गरेको’ आरोप लगाउँदै उनलाई जानकी मन्दिर प्रवेश गर्न नदिने चेतावनी दिएको थियो।

स्थिति तनावपूर्ण बनेपछि नेपाल प्रहरीले हस्तक्षेप गर्दै अवस्था नियन्त्रणमा लिएको थियो। त्यसपछि हिन्दु सम्राट सेनाका कार्यकर्ताले प्लेकार्डसहित मन्दिरको मुख्य प्रवेशद्वार बाहिर प्रदर्शन गरेका थिए।

पार्टी कार्यक्रमका लागि जनकपुर पुगेका अध्यक्ष साम्पाङले जानकी मन्दिरमा दर्शन गर्ने तयारी गरेका थिए। घटनापछि उनले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थकमाथि दुर्व्यवहार भएको दाबी गर्दै मन्दिर प्रवेशलाई लिएर राजनीति गर्न खोजिएको आरोप लगाएका छन्। साथै उनले आफ्ना समर्थकलाई संयमित रहन आग्रह गरेका छन्।

 

तपाईको प्रतिक्रिया