मंगलबार ५ श्रावण २०८३
समाज

नुवाकोटमा रोपाइँ गरिरहेका बेला पहिरो जाँदा ६ जना घाईते

मंगलबार श्रावण ५, २०८३/ Tuesday 07-21-26

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१२ भट्टगाउँमा रोपाइँ गरिरहेका बेला सोमबार एक्कासि पहिरो खस्दा ६ जना किसान घाइते भएका छन्।

स्थानीय नोमराज भट्टको खेतमा धान रोप्ने क्रममा माथिबाट ठूलो पहिरो खसेपछि किसानहरू भागाभाग गरेका थिए। प्रहरीका अनुसार समयमै भाग्न सफल भएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको हो।

घाइतेमध्ये ६५ वर्षीय नारायणप्रसाद भट्टको अवस्था गम्भीर रहेको छ। पहिरोले बगाएर करिब ७–८ सय मिटर तल जंगलमा पुर्‍याएका उनलाई उद्धार गरी काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारका लागि पठाइएको छ।

अन्य घाइतेहरूको उपचार स्थानीय चारघेर उपस्वास्थ्य चौकीमा भइरहेको छ।

पहिरोले करिब ७ रोपनी खेतीयोग्य जमिन पूर्ण रूपमा बगाएको छ। स्थानीय रामशरण भट्टका अनुसार पहिरोपछि खेत पूरै भीरमा परिणत भएको छ, जसले ठूलो कृषि क्षति भएको छ।

 

तपाईको प्रतिक्रिया